• १९ श्रावण २०८१, शनिबार
  •      Sat Aug 3 2024
  •   Unicode
Logo
Latest
★   सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि नेपाल भ्रमण गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह ★   हाम्रो लक्ष्य पूरा भइसकेको छैन–कप्तान अरुणा शाही ★   मिस नेपाल वर्ल्डको उपाधि आश्माले जितिन् (तस्बिरहरू) ★   राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी: अध्यक्ष लिङ्देन ★   रास्वपाले स्थानीय छाँया सरकार गठनको अभ्यास गर्ने, महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा ★   नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द ★   कसले चोरे आइन्स्टाइनको दिमाग ? ★   तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: सभामुख घिमिरे ★   काभा नेसन्स लिग: भारतमाथि नेपालको ऐतिहासिक जित-फोटो फिचर ★   आफैले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

पहिरो र कटानले बेनी–जोमसोम सडक चार ठाउँमा अवरुद्ध



म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड कम्तीमा चार ठाउँमा पहिरो र कटान जाँदा आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला, अन्नपूर्ण गाउँपालिकाको पुरै र रघुगङ्गा गाउँपालिकाको छवटा वडामा यातायात सञ्चालन हुन सकेका छैनन् ।

बेनी–जोमसोम सडक आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो र कटानका कारण सडक अवरुद्ध बनेको छ । “अन्नपूर्णको रुप्से, गुइठेभिर, भिरकाटे र दोवाखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “कालीओडार, सिरुवारी र बैसरीमा पहिरो पन्छाउन सडक विभागको डोजर, लोडरलगायत उपकरण, प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छौँ ।”

बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने रघुगङ्गा–३ गायत्री मन्दिर नजिकै रघुगङ्गा नदीले कटान गरेर भासिएको सडक मर्मत गर्न केही समय लाग्ने सबइन्जिनियर कार्कीले बताउनुभयो । “भिर काटेको पहिरोबाहेक अन्य पहिरो बेनी–जोमसोम सडकमा हरेक मनसुनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरो हुन्”, उहाँले भन्नुभयो, “सडक अवरुद्ध हुँदा रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक, तिर्थयात्रीहरूलाई समस्या भएको छ ।”

सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सडकलगायत विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका किसानले उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ ।

पहिराले पोल ढलाएपछि अन्नपूर्ण गाउँपालिकाका अधिकांश वडामा विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

यसैबीच फापरखेत र बाङ्गेपहिरामा अवरुद्ध म्याग्दीको पश्चिमी क्षेत्रका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक खुलाउन डोजर परिचालन गरिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

बाढीपहिराले कल्भर्ट बगाउँदा सडक अवरुद्ध

बिहीबार रातिको भीषण वर्षाका कारण तनहुँका विभिन्न ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन् । विभिन्न खोलामा आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न ठाउँका सडकखण्ड अवरुद्ध भएका हुन् । बाढीपहिराले केही ठाउँमा कल्भर्ट बगाएको छ ।

व्यास नगरपालिका–११ पुरनडिहीस्थित राम्दी खोलामा बाढीले दुईवटा कल्भर्ट बगाउँदा सडक अवरुद्ध भएको छ । उक्त सडक हुँदै सोही वडाको फराकचौर, बेल्टारी, शेरासम्मको आवागमन ठप्प भएको छ ।

भानु नगरपालिका–५ टुहुरेपसलस्थित खत्रीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा डुम्रे–चन्द्रावती खण्ड अवरुद्ध भएको छ । खत्रीखोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि भानु–१२, १३, ६ र ७ मा सञ्चालित सवारीसाधन रोकिएका वडाध्यक्ष धिरज खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भानुको उत्तरी भेग १२ र १३ को ‘लाइफलाइन’का रूपमा रहेको यस ठाउँको कल्भर्ट बगाउँदा सर्वसाधारणलाई आवाजजावतमा कठिनाइ भएको छ ।”

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार, व्यास–१२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका–५ याम्पालगायत ठाउँमा गएको पहिरा भने पन्छाएर पृथ्वीराजमार्ग पूर्ण रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस