२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

तरकारीखेती गरेर पतिको पकेट खर्च जुटाइँदै

तरकारीखेती गरेर पतिको पकेट खर्च जुटाइँदै
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन । 

तरकारी खेती गर्न थालेपछि उहाँलाई घरायसी खर्च चलाउन सहज भएको हो । यसअघि उहाँ अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्दथे । त्यसले परिवार खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारीसमेत बजारबाट खरिद गर्नुपर्ने हुन्थ्यो । छिमेकीले तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेपछि उहाँले पनि तरकारीखेती गर्न थालेका हुन् । तरकारी खेतीबाट अहिले परिवार खर्च धान्न सहज भएको डगौराले बताउनुभयो । 

“घरायसी खर्च र श्रीमान्लाई आवश्यकपर्ने पकेट खर्चसमेत तरकारीको आम्दानीले धान्दै आएको छ”, उहाँले भन्नुभयो,  “तरकारीखेती गर्ने खेतमा अन्नबाली लगाउँदा घरखर्च चलाउन निकै गाह्रो थियो । हरेक कामका लागि श्रीमान्को मुख ताक्नुपर्दथ्यो । अहिले   तरकारी खेतीले दिनचर्या फेरिएको छ ।” श्रीमान्बाट घरखर्च माग्ने महिला उल्टै तरकारीखेती गरेर श्रीमान्कै पकेट खर्च दिन थालेको उहाँको भनाइ छ । 

 मीनाजस्तै पिपलाडी गाउँका करीब ६० महिला तरकारी खेतीमा लागेका छन् । यो खेतीमा संलग्न महिलाले दैनिक नजिकैका बजारमा तरकारी बेचेर रु तीन हजारदेखि पाँच हजारसम्म आम्दानी गर्दै आएका छन् । “विगतमा तरकारीखेती गरे पनि घरकै लागि मात्रै हुँदा आएको थियो । त्यो पनि परम्परागत तरिकाले गरिने हुँदा थोरै मात्रै फल्ने गरेको थियो”, स्थानीयवासी लक्ष्मी चौधरीले भन्नुभयो, “तरकारीखेती गर्ने नौलो तरिका सिक्यौं र चाहे अनुसारकै तरकारीबारीमा उत्पादन गर्न थालेका छौं ।” 

दिनभरि तरकारी खेतीको गोडमेल र सिँचाइ गर्नमा व्यस्त हुने महिला साँझ नपर्दै तरकारी टिप्नमा व्यस्त हुने गरेका छ । साँझ टिपेको तरकारी टोकरीमा बोकेर बजार र गाउँ चहार्दै बेच्ने गरेका छन् । तरकारी अन्नसँग साटेर र नगदमै पनि बिक्री हुँदै आएको छ ।

 विभिन्न सङ्घसंस्थाले बारीमै पुगेर तरकारीखेती गर्ने तरिका, रोगकीरा रोकथाम, खेत तयार गर्ने, बिरुवा रोप्ने र टिप्नेदेखि बजारमा लगेर बेच्नेसम्मका कार्य सिकाएपछि हाल तरकारीखेती गर्न निकै सहज भएको तरकारी खेतीमा संलग्न महिलाको भनाइ छ । बेमौसमी तरकारी खेतीबाट बढी फाइदा हुने भएपछि यस क्षेत्रका किसान महिलाले अहिले बारीमा काउली, रायो, गोलभेडा, बोडीलगायत तरकारी उत्पादन गरी बेच्दै आएका छन् । 

स्थानीयवासी कालुराम चौधरीका अनुसार महिलाले काउली रोपेर मात्रै रु २० हजारदेखि रु ५० हजारसम्म आम्दानी हात पारेका छन् । “ तरकारीखेतीमा संलग्न महिलाले वार्षिक रु पाँच लाखदेखि  सात लाखसम्म तरकारी बेचेरै पैसा कमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “हाल काउली रु ९० देखि रु एक सय प्रतिकिलोका दरले र रायो प्रतिमुठा रु ४० मा बिक्री गर्दै आएको छ ।” 

दिनभरी खेतबारी स्याहार्नमा व्यस्त हुने यहाँका महिलाहरु साँझपख बारीमा उत्पादन भएको तरकारी टिपेर बिहानीको झिसमिसेमै नजिकैका बजारमा लगेर बेच्ने गर्दछन । केही तरकारी व्यापारीले बारीमै पुगेर खरिद गरेर लैजाने गरेका छन् । सहकारी संस्थाले महिलालाई तरकारीको उन्नत बीउबिजन, रासायनिक मल, सिँचाइका लागि बोरिङकोसमेत व्यवस्था गरिदिएको छ । तरकारीखेतीमा संलग्न महिलालाई अन्तर समूह अनुगमन गराइ एकले सिकेका सीप अर्कोलाई सिकाउनका लागि कार्य अगाडि बढाइएको छ ।
     
तरकारीखेतीमा लागेका महिलाको दक्षता अभिवृद्धिका लागि तालीमको व्यवस्थासंँगै ४०० घरघुरीमा एक जना कृषि प्राविधिक (जेटिए)को समेत व्यवस्था सहकारी संस्थाले गरेको छ । महिलाले तरकारीबालीमा समस्या आए जेटिएलाई देखाएर समस्या समाधान गर्न थालेका छन् । पहिलेको तुलनामा तरकारीबाली लगाउने तरिकामा परिवर्तन आएपछि पिपलाडी गाउँ तरकारीखेतीका लागि चिनिन थालेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । “नयाँ प्रविधिको विकाससँगै तरकारीखेतीका लागि नयाँ किसमका उपकरण र औंजारको प्रयोग हुन थालेपछि यसले उत्पादन बढाउन सघाउ पु¥याएको छ”, उहाँले भन्नुभयो, “स्थानीय सङ्घसंस्थासंँगै स्थानीय तह र प्रदेश सरकारले तरकारीखेतीमा संलग्नलाई अनुदानलगायत कार्यक्रममा आवद्ध गराउन थालेपछि तरकारीखेती गर्नेहरु बढेका छन् ।”

प्रदेश सरकारको मुख्यमन्त्री कृषि कार्यक्रममा यस क्षेत्रका किसानलाई समेटिएपछि तरकारीखेती गर्नेलाई प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि बोरिङ, बीउ खरिद गर्नका लागि रकमको व्यवस्थाले व्यावसायिक तरकारीखेती गर्ने किसानलाई निकै सघाउ पुर्याइएको उहाँको भनाइ छ । कार्यक्रम अन्तर्गत २७ जना किसानलाई बेमौसमी तरकारीखेतीका लागि प्लाष्टिको टनेल उपलब्ध भएको छ । महिलाहरुले हिउँदेबालीका रुपमा बेमौसमी काँक्रा, तीतेकरेला, गोलभेडाखेती गरेका छन् । बेमौसमी तरकारी बजारमा महङ्गो मूल्यमा बिक्री हुने भएपछि किसान महिलाले यस प्रविधिको प्रयोगलाई बढावा दिँदै आएका छन् । 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत रणबहादुरले मल्ल चालू आवमा समेत तरकारी खेतीमा संलग्न किसानलाई कार्यक्रम अन्तर्गत कृषि आंैजार र उपकरणमा सहयोग गरिने बताउनुभयो । यसका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताइएको छ । गत आवमा यस कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन भएको थियो । उपलब्ध बजेट परिचालन गरी तरकारीखेतीमा संलग्न किसानलाई कृषि औँजार, उपकरण र प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको थियो । गतवर्ष कृषि औंजार, उपकरण, पम्पसेट र प्लाष्टिक टनेल नपाएका किसानलाई यस वर्षको अनुदानबाट उपलब्ध गराउने योजना रहेको छ । 
 
पिपलाडी, जोनापुरका १०० भन्दा बढी परिवारले पाँच कठ्ठादेखि एक बिघा खेतमा तरकारीखेती गरेका छन् । एक दशकदेखि तरकारीखेती गर्दै आएका यस क्षेत्रका किसानले पाँच वर्षयतादेखि व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका हुन् । पिपलाडी जोनापुर गाउँमा मात्रै वार्षिक रुपमा रु दुई करोड बढीको तरकारी उत्पादन हुने गरेको छ । यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी स्थानीय झलारी, कलुवापुर, वन समिति, हुँदै कैलालीको अत्तरियासम्म खपत हुने गरेको छ । दैनिक यस क्षेत्रका महिलाले रु एक लाख बढीको तरकारी बेच्दै आएका छन् । तरकारी खेतीमा संलग्न महिलाले भन्नुभयो, “तरकारी लगाउने तरिकामा अझैँ आधुनिकता थपिए उत्पादन बढाउन सकिन्थ्यो, त्यसका लागि परिष्कृत तालीम र बजारीकरणको उचित व्यवस्थापनको आवश्यकता महसुस गरेका छौं ।” 

कञ्चनपुरमा दुई हजार ५५० हेक्टर जग्गामा गरिने तरकारी खेतीबाट ३७ हजार ९९५ उत्पादन हुने गरेको तथ्याङ्क छ ।