काठमाडौं । अर्थ मन्त्रालयको निर्देशनपछि सेयर किनबेच वापत लगानीकर्ताले तिर्नुपर्ने सेयर ब्रोकर कमिशन घटेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यसअघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो ।
पछिल्लो समय दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए ।
हालसम्म लगानीकर्ताहरुले सेयर कमिसन वापत ०.६१५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । सेयर बिक्री गर्दा नाफामा ५ प्रतिशत लाभकर तिर्नु पर्छ । ५० हजारसम्मको कारोबारमा ०।६० प्रतिशत र त्यसभन्दा माथि पाँच लाख रुपैयाँसम्म ०.५५ प्रतिशत ब्रोकर कमिसन तिर्नु पर्ने थियो ।
यसैगरी पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म ०.४५ प्रतिशत र एक करोड रुपैयाँदेखि माथि ०.४० प्रतिशत ब्रोकरलाई कमिसन र त्यसमाथि सेवा शुल्क भनेर नेपाल धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था थियो । डिपी शुल्क भनेर प्रत्येक कारोबारमा २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
प्रभु लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँड
यसैबीच, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर (आइपिओ) शुक्रबार बाँडफाँड गरेको छ ।
शेयर जारी कर्ता सिद्धार्थ क्यापिटलमा आयोजित समारोहमा शेयर वितरण गरिएको थियो । शेयरमा लगानी गर्नेहरु मागभन्दा धेरै गुणा बढी परेको भन्दै गोला प्रथाव्दारा निर्णय गरिएको थियो ।
प्राप्त विवरण अनुसार सर्वसाधारणका लागि छुट्याइएको ५४ लाख कित्ताका लागि आवेदन माग गरिए पनि १० लाख ४९ हजार आवेदन परेका थिए । उनीहरुले २ करोड ७८ लाख २१ हजार कित्ता शेयरका लागि आवेदन गरेका थिए ।
गोलाप्रथाको नियम अनुसार ५ लाख ४० हजार आवेदकलाई प्रति आवेदक १० कित्ता दिइएको थियो भने ५ लाख ९ हजार ४७ जनालाई कुनै शेयर परेन । २ हजार १६९ व्यक्तिको भने आवेदन रद्द भएको थियो ।
शेयर ब्राेकर कमिसन बारे धिताेपत्र बाेर्डकाे प्रेस विज्ञप्ति













