२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिदको स्मृतिमा उद्यान निर्माण



अ+ अ-

ढोरपाटन । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो ।

सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरूको सम्मानका लागि उद्यान निर्माण गरिएको काठेखोला–१ वडाध्यक्ष खड्क थापाले बताउनुभयो । उहाँका अनुसार उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनुभएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिएको छ ।

अघिल्लो वर्षदेखि निर्माण सुरु भएको उद्यान चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकार र काठेखोला गाउँपालिकाको संयुक्त लगानीमा उद्यान निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा रु १५ लाख, चालु आवमा रु २० लाख र गाउँपालिकाले गत वर्ष रु दुई लाख र चालु आवमा रु दुई लाख विनियोजन गरेको थियो ।

रु ३९ लाख बजेटबाट तीन सय ५० मिटर पदमार्ग, सालिक, गेट, सडक ढलान र घराबार निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । सहिदको सम्मानसँगै पर्यटन प्रवर्द्धन गर्न उद्यानले टेवा पुर्याउने भन्दै उद्यान जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिएको उहाँको भनाइ छ ।

“सहिदको स्मृतिमा यो उद्यान निर्माण गरेका हौँ, यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । उद्यानसँग पहिचान, इतिहास र सम्मान पनि जोडिएको छ । राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका सहिदको सालिक उद्यानमा राखेका छौँ”, वडाध्यक्ष थापाले भन्नुभयो ।

उद्यानले गाउँको सुन्दरतालाई बढाएको भन्दै गत वर्ष चौतारालगायत भौतिक संरचना निर्माण गरिएको थापाले जानकारी दिनुभयो । “उद्यान नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धित अभिलेख राखेर यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न यहाँ उद्यान निर्माण गरिएको बताउनुभयो । गाउँपालिकाले अन्य ठाउँमा पनि पर्यटकीय पूर्वधार निर्माणसँगै र प्रचारप्रसारमा जुटेको भन्दै वडा नं १ मा सहिद उद्यान निर्माण गरिएको उहाँको भनाइ छ । काठेखोला पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले पर्यटनसम्बन्धी संरचना थप्दै जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । रासस