काठमाडौँ । भारत दोस्रो पटक टी–२० क्रिकेटको विश्व च्याम्पियन बनेको एक दिनभन्दा बढी भइसकेको छ । भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको हो । भारतलाई च्याम्पियन बनाउन विशेषतः बलरहरुको भूमिका शीर्ष रह्यो ।
भारतले प्रतियोगितामा कम्तीमा १२ खेलाडीलाई प्रयास गरेको थियो, जसमध्ये ७ बलर थिए । यी बलरहरूले भारतका लागि ८ खेलमा ६४ विकेट लिएका छन्, अर्थात् प्रत्येक खेलमा ८ विकेट । भारतीय बलरहरू प्रत्येक खेलमा लिने औसत विकेटको आधारमा शीर्ष स्थानमा रहे ।
उपविजेता दक्षिण अफ्रिकाका बलरले ६५ विकेट लिए पनि टोलीले भारतभन्दा एक खेल बढी खेलेको थियो । भारतको एउटा खेल वर्षाका कारण अनिर्णित रहनुका कारण यस्तो भएको हो ।
प्रतियोगितामा दुवै टोलीका बलरले सबैभन्दा बढी विकेट लिएकाले फाइनल खेल दुवैबीच भएको थियो । तर, प्रत्येक खेलमा विकेट लिने मामिलामा भारतीय बलरहरू अगाडि रहे, जसका कारण उनीहरूले टोलीलाई च्याम्पियन बनाउन सके ।
फिल्डिङमा पनि भारतले राम्रो गरेको थियो । त्यसैको आधारमा टोलीले ८ विपक्षी टोलीमध्ये ३ ओटालाई अलआउट गर्यो । समूह चरणमा आयरल्यान्डलाई मात्रै अलआउट गर्न सके पनि सुपर–८ मा भारतले अफगानिस्तान र सेमिफाइनलमा इङ्ल्यान्डजस्तो बलियो टोलीलाई अलआउट गर्यो ।
भारतले सुपर–८ चरणमा ३ फास्ट बलर र समूह चरणमा ४ फास्ट बलरलाई मौका दिएको थियो । अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले सबै खेल खेले । जहाँ कप्तान रोहित शर्माले मोहम्मद सिराजलाई अमेरिकाको गति मैत्री पिचमा मौका दिएका थिए ।
यी चार बलरले एकसाथ ६.१८ को इकोनोमीमा रन खर्च गरे र प्रतियोगितामा सर्वाधिक ४४ विकेट लिए । यसको मतलब भारतीय बलरहरूले प्रत्येक २ खेलमा १३ विकेट लिएका थिए । जुन २० टोलीमध्ये सबैभन्दा बढी हो । भारतपछि दक्षिण अफ्रिकाका फास्ट बलरले प्रतियोगितामा ४१ विकेट लिएका छन् ।
भारत र इंग्ल्याण्डबीचको सेमिफाइनल खेल गुयानामा भएको थियो । यहाँ स्पिनले सहयोगी पिच पाए, जहाँ कुलदीप यादव र अक्षर पटेलले ३–३ विकेट लिएर इङ्ल्यान्डलाई ब्याकफुटमा धकेले ।
भारतका स्पिनरहरूले प्रतियोगितामा २० विकेट लिएका थिए, जसको अर्थ उनीहरूले प्रत्येक २ खेलमा ५ विकेट लिएका थिए । जुन दक्षिण अफ्रिका र वेस्ट इन्डिजपछिको उत्कृष्ट हो ।