• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

अदालतसँग झिनो आशा भएपनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुन सकिन्न : भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताउनुभएको छ । 

जसपाले आइतबार काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सरकारको असंवैधानिक कदम विरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताउनुभएको हो । अदालत सारतत्वमा नजाने टिप्पणी गर्दै डा. भट्टराईले अदालतको ढाँचा परम्परावादी र प्रक्रियामुखि भएकोले अदालतसँग झिनो आशा भएपनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुने अवस्था नरहेको बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाईरहेको समेत बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन चाहेको उल्लेख गर्दै उहाँले संसदमाथिको प्रहारमा मात्रै प्रधानमन्त्रीको कदम नरोकिने बताउनुभयो । डा. भट्टराईले देश अक्कडमा फसेको भन्दै सहज निकास गाह्रो भएको बताउनुभयो । उहाँले जनताको निहित सार्वभौंम सत्ता प्रयोग गरेर सभामुखले संसद बोलाउनुपर्ने बताउनुभयो ।

यस्तै जसपा नेता राजेन्द्र महतोले सरकारले पटक पटक प्रतिगमन गरेको टिप्पणी गर्नुभयो । अहिलेको प्रतिगमन केवल कुर्चीको लागि भएको उहाँको भनाई छ । उहाँले प्रतिगमन नटिक्ने भन्दै जनताको अधिकार नमिच्न र संविधान माथि आक्रमण नगर्न चेतावनी दिनुभयो ।

विरोध सभामा संघीय परिषद अध्यक्ष डा. भट्टराई, नेता राजेन्द्र महतो, अशोक राई लगायतको उपस्थिति रहेको थियो । जसपाले संसद विघटनको बिरोधमा विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।