१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता

धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता
अ अ+ अ-

म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजीकको जङ्गलमा बास बस्नुहुन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धवलागिरि आइसफल ट्रेकमा दुई वर्षदेखि पदमार्ग निर्माण भइरहेको छ ।

पर्यटन विभागसँग दुईवटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो । गत वर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकूल मौसम र बाढी, पहिरोका कारण योजनालाई सम्पन्न गर्न दुई वर्ष लागेको जनाएको छ । बस्तीदेखि टाढा र हिमालको नजिकका भूभागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरू वनजङ्गलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जङ्गलमै बसेर काम गर्नुपरेको बस्नेतले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजनाअन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल रु एक करोड ५४ लाख बजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म आठ किलोमिटर बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिनुभयो ।

“यो वर्षमात्रै तीन किलोमिटर बढी पदमार्ग बनाएका छौँ, असारभित्रमा योजनालाई सम्पन्न गर्ने गरी काम भैरहेको छ, अक्करे भिरबाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने हाम्रो लक्ष्य हो, विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था बाहेकका अन्य सबै अप्ठेरो ठाउँमा सहज रूपमा आवतजावत गर्न सक्ने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यसवर्ष छिस, कछुवा ओढार हुँदै धवलागिरि भ्यू प्वाइन्ट हिलसम्मको नदी किनार र घना जङ्गलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ । पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवालगायतका जिल्लाबाट मजदुरहरू यहाँ आएका छन् ।

दुई समूहमा बाँडिएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताउनुभयो । जङ्गल, भिर पहाड र खोला किनारमा दुई मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरूलाई धवलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ ।

उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा वर्षाको प्रतिकुलताका बीच पदमार्ग बनाउने कामलाई तीब्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत बर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । यस पदमार्गअन्तर्गत कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ ।

यसअघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरे पनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ । धवलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरी अध्ययन गरिरहेको जनाएको छ । गत वर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस वर्ष कालीबराह दोभान अघिदेखि काम भैरहेको छ ।

चिमखोलादेखि घ्यासीखर्क हुँदै आधार शिविर जाने बाटोमा कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको भिरबाहेक अन्य सबै ठाउँमा सुविधाजनक पदमार्ग निर्माण हुन लागेको वडा नं ७ अध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिनुभयो । “आइसफल पदमार्ग सहज बन्दै गएको छ, हामीले पदमार्गसँगै खोलाहरू पुल र ठाउँ–ठाउँमा आश्रयस्थल पनि बनाउनपर्छ भनेर पहल गरिरहेका छौँ, दुई ठाउँको भिरमा पदमार्ग छिचोलियो भने एक दिनमै सहजै आधार शिविर पुग्ने पूर्वाधार तयार हुन्छ” वडाध्यक्ष पाइजाले भन्नुभयो । उहाँले पदमार्ग निर्माणसँगै कालीबराह खोला र रघुगङ्गा नदी समेतमा झोलुङ्गे पुलहरू बनाउन आवश्यक रहेको बताउनुभयो ।

म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरी २०६८ सालमा पहिलोपटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरिसकेको छ । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

नेपाल सरकारले धवलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि नयाँ वैकल्पिक पदमार्गको रुपमा धवलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भैरहे पनि सूचनामूलक सङ्केतबोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लजहरू निर्माण हुन सकेका छैनन् ।

धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा, भुरुङ, दानालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।