• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने

इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन



नारायणगढ । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पुर्याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत लागतमा तीनवटा कृषक समूहलाई गत आव र अहिले गरी तीनवटै कृषि एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो । यस वर्ष इच्छाकामना–१ को सिराइचुली कृषि सहकारी संस्था र इच्छाकामना–६ स्थित चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाका लागि एक÷एक वटा कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको पौडेलले जानकारी दिनुभयो । गत आवको असारमा इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे थियो ।

गत आवमा हस्तान्तरण गरिएको कृषि एम्बुलेन्सले मायाटार, वल्र्याङ क्षेत्रका किसानको कृषि उपज ढुवानीमा सहज भएको पाइएसँगै यसको प्रभावकारिता सकारात्मक देखिएपछि चालु आर्थिक वर्षमा वडा नं १ र ७ मा थप दुईवटा कृषि एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आवमा खरिद गरिएको कृषि एम्बुलेन्सले गाउँको उत्पादनलाई बजार लैजान र बजारबाट गाउँमा चाहिने सामान ढुवानी गर्न धेरै सहज भएको छ । गत वर्षको काम सफल तथा प्रभावकारी भएसँगै हामीले यसपटक दुईवटा कृषि एम्बुलेन्स थपेका हौँ ।”

उहाँले पालिकाले कृषि योजनालाई उच्च प्राथमिकता दिएसँगै कृषि उत्पादन र यसको बजारीकरणका लागि कृषि एम्बुलेन्स आवश्यक ठानेर हस्तान्तरण गरिएको बताउनुभयो । पालिकाको भाराङ, हात्तीवाङ, मायाटार, वल्र्याङ दाहाखानीलगायतका क्षेत्रलाई लक्षित गरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

कृषि एम्बुलेन्सको प्रयोगले भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख गुरुङको विश्वास छ । गाउँमा उत्पादन भएका कृषि उपज एम्बुलेन्स चालकले बिक्री गरेर साँझ पैसा पुर्याइदिने व्यवस्थासमेत मिलाएको उहाँले स्पष्ट पार्नुभयो ।

धेरैजसो पहाडी इलाका रहेको इच्छाकामनामा उल्लेख्य मात्रामा तरकारी तथा फलफूलखेती हुने गर्दछ । यहाँ उत्पादित फलफूल र तरकारीको मुख्य बजार राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिन हो ।