७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिममा नेपाल, छिमेकी मुलुक भारतमा पनि देखियो



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’ जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ ।

उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरैपटक म्युटेसन भएको छ ।’ नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् । जनस्वास्थ्य विज्ञ डा. पाण्डेले भने, ‘यो प्रजातिको कोरोना भाइरस नेपालमा पनि आउन सक्ने सम्भावना छ । अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित रूपमा धुने गरेमा हामी यो भाइरसबाट बच्न सक्छौं । यसको घातक प्रभाव कम भएकाले डराउनुपर्दैन ।’ हाल सरकारले बेलायतबाट आवतजावत बन्द गरेको छ ।

दोस्रो लहरको खतरा
आत्मानुशासन नहुँदा कोरोनाको दोस्रो लहर आउने खतरा बढेको छ । व्यक्ति स्वयं सचेत नहुँदा र सरकारले हेलचेक््रयाइँ गर्नेमाथि कारबाही नगर्दा जोखिम थप बढेको हो । केही दिनयता परीक्षण घट्दा संक्रमितको संख्या घटेको देखिएको छ । अहिले दैनिकजसो प्रदर्शन, जुलुस र सभा गर्न थालिएको छ । जुलुसमा कुनै व्यक्तिमा संक्रमण देखिए आम व्यक्ति प्रभावित हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जोखिम अझै कायम छ । उनले भने, ‘हिँड्दा, बस्दा र काम गर्दा एक अर्कालाई संक्रमणको आशंकामा राखेर मानिसबाट मानिसको दुरी कम्तीमा २ मिटर कायम गरौं । सधैं समुचित तरिकाले मास्क प्रयोग गरौं । हातको सरसफाइमा ध्यान दिऔं । हातले नाक, मुख र अनुहार छुने बानी हटाऔं ।’ उनले व्यक्तिको यस किसिमको बानी सुधार भए कोरोना संक्रमणबाट मात्र नभई धेरै किसिमका सरुवा रोगबाट बच्न सकिने बताए ।

बुधबार देशभर ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार ५ हजार १ सय १० जनाको पीसीआर परीक्षण भएको छ । बुधबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ६ सय जना उपचारपछि डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ । राजधानी दैनिक