१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता नरहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो दावी गर्नुभएको हो । मन्त्री बुढाले योजनाहरुको आवश्यकता र सन्तुलित तवरले मन्त्रालयको बजेट विनियोजनको प्रयास गरिएको जिकिर गर्नुभयो ।

उहाँले संघीय संसद भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख लगायतका विशेष प्रकृतिका भवन निर्माण गर्नु परेकाले अन्य प्रदेशभन्दा बागमती प्रदेशको बजेट बढी देखिएको पनि स्पष्ट पार्नुभयो । मन्त्री बुढाले आयोजनाहरुको पूर्वतयारीका लागि ५ लाख भन्दा बढिको बजेट विनियोजन गर्ने बाध्यता आईपरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहरी विकास मन्त्रालयले योजनाहरुको आवश्यक्ता र स्रोतको उपलब्धताको लेखाजोखा गरी सन्तुलित तवरले नै बजेट विनियोजन गर्ने प्रयास गरिएको छ । प्रादेशिक रुपमा सहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता नरहेको ब्यहोरा अनुरोध गर्दछु । यस मन्त्रालयको कार्यक्रमहरु ७७ वटै जिल्लाहरुमा रहेका छन ।

विशेष प्रकृतिका भवनहरु जस्तै संघीय संसद, मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालय र अतिविशिष्ट तथा विशिष्ट महानुभावहरुको आवास व्यवस्थापन गर्नुपर्ने भएकाले अन्य प्रदेशको तुलनामा बागमती प्रदेशको बजेट बढि देखिएको छ ।’

मन्त्री बुढाले आफूले सबै जिल्लामा योजनाहरु पुग्नेगरी बजेटको विनियोजना गरेको दाबी पनि गर्नुभयो ।