• ४ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 19 2024
  •   Unicode
Logo
Latest
★   अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन: प्रधानमन्त्री ★   पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन ★   गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीलाई राष्ट्रपतिको शुभकामना ★   तोलामा रु दुई हजारले घट्यो सुनको मूल्य ★   भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत ★   सिमलताल दुर्घटना: २३ जनाको शव फेला, नौँ जनाको सनाखत हुन बाँकि (सूचीसहित) ★   काठमाडौंमा किन महंगियो तरकारी? यस्तो छ उपभोक्ताको भनाइ ★   न्यूरोडमा फुटपाथ विस्तारको विरोध गर्दै सडकमा उत्रिए स्थानीय ★   विद्यालय शिक्षा विधेयक: सांसदले आफ्नै संशोधन बिर्सन थालेपछि.. ★   पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न



काभ्रेपलाञ्चोक : जिल्लाको ऐतिहासिक नगर पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) आज सकिएको छ ।

जात्राको अन्तिम दिन अर्थात् आज पूर्णिमाका दिन दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकआपसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । साँझ चझ र चिराग पूजा गरेपछि जात्रा सकिएको हो ।

किंवदन्तीअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई लखेट्दा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको यस जात्रा विशेषरुपमा बिहिबार साँझदेखि करिब ५० मिटर चौडा पुण्यमाता खोलामा नागको प्रतीकका रुपमा दुई बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरुलाई सुस्तरी तारेपछि सुरु भएको थियो । महादेव त्रिवेणीमा हामफालेर लुक्दा पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यमा अबिरजात्रा गरी रथ जुधाइने गरिँदै आइएको हो ।

लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् भन्ने मान्यता रहँदै आएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताउनुभयो ।

उहाँका अनुसार धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिक सम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्ने गर्छन् । इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो ।

विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । पनौती जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा सुरुआतको दिन बिहीबार राति १० बजे भद्रकालीको रथ तानेर रातभरि गैंडू पूजा (होम गर्ने) गरिएको थियो ।

दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगर परिक्रमा गराई साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिएको थियो ।

स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको छ । त्रयोदशीदेखि पूर्णिमासम्म जात्रा मनाएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता रहँदै आएको छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकारले बताउनुभयो । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । रासस