११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न
अ अ+ अ-

काभ्रेपलाञ्चोक : जिल्लाको ऐतिहासिक नगर पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) आज सकिएको छ ।

जात्राको अन्तिम दिन अर्थात् आज पूर्णिमाका दिन दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकआपसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । साँझ चझ र चिराग पूजा गरेपछि जात्रा सकिएको हो ।

किंवदन्तीअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई लखेट्दा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको यस जात्रा विशेषरुपमा बिहिबार साँझदेखि करिब ५० मिटर चौडा पुण्यमाता खोलामा नागको प्रतीकका रुपमा दुई बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरुलाई सुस्तरी तारेपछि सुरु भएको थियो । महादेव त्रिवेणीमा हामफालेर लुक्दा पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यमा अबिरजात्रा गरी रथ जुधाइने गरिँदै आइएको हो ।

लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् भन्ने मान्यता रहँदै आएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताउनुभयो ।

उहाँका अनुसार धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिक सम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्ने गर्छन् । इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो ।

विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । पनौती जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा सुरुआतको दिन बिहीबार राति १० बजे भद्रकालीको रथ तानेर रातभरि गैंडू पूजा (होम गर्ने) गरिएको थियो ।

दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगर परिक्रमा गराई साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिएको थियो ।

स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको छ । त्रयोदशीदेखि पूर्णिमासम्म जात्रा मनाएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता रहँदै आएको छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकारले बताउनुभयो । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रुपमा लिने गरिएको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । रासस