• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग



एजेन्सी । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेबारी दिइएको प्रभावशाली युद्ध मन्त्रिपरिषद्लाई भङ्ग गर्नुभएको अधिकारीहरूले सोमबार बताएका छन् ।

युद्ध मन्त्रिपरिषद्का एक प्रमुख सदस्यले प्रधानमन्त्रीको युद्ध व्यवस्थापन गर्ने तरिकालाई लिएर निराशा व्यक्त गर्दै सरकारको आलोचना गरेको केही दिनपछि यस्तो कदम चालिएको हो ।

यसै महिनाको प्रारम्भमा मध्यमार्गी पूर्व सैन्य प्रमुख बेनी गेन्ट्जले युद्ध मन्त्रिपरिषद् सदस्यबाट राजीनामा दिएपछि यस्तो कदमको व्यापक अपेक्षा गरिएको थियो ।

सरकारबाट गेन्ट्जको अनुपस्थितिले नेतान्याहुलाई शासन गर्न आफ्ना अतिराष्ट्रवादी सहयोगीमाथि अधिक निर्भर बनाएको छ र युद्ध मन्त्रिपरिषद्को विघटनले गाजामा आठ महिना लामो युद्धका रूपमा भएको परिवर्तनलाई जोड दिएको छ ।

नेतान्याहुले युद्धसँग सम्बन्धित संवेदनशील मुद्दाका लागि आफ्ना केही सरकारी सदस्यसँग सानो फोरम राख्नुहुने आफ्नो नाम उल्लेख नर्गे सर्तमा एक अधिकारीले बताए ।

यसमा युद्धविराम सम्झौताको विरोध गर्ने र गाजामाथि पुनः कब्जा गर्नका लागि समर्थन गर्ने अतिदक्षिणपन्थी शासक साझेदार रहेको सुरक्षा मन्त्रिपरिषद् पनि समावेश छ ।

गेन्ट्ज विपक्षी दलको नेता तथा नेतान्याहुका प्रतिद्वन्द्वी रहेको बेला युद्ध मन्त्रिपरिषद्को गठन युद्धको सुरुआती दिनमा गरिएको थियो । अक्टोबर ७ मा दक्षिणी इजराइलमाथि हमासको आक्रमणपछि एकता प्रदर्शनमा गेन्ट्ज गठबन्धनमा सामेल हुनुभएको थियो ।

उहाँले नेतान्याहुको सरकारका अतिदक्षिणपन्थी सदस्यहरूलाई किनारा लगाउन सानो निर्णय गर्ने निकायले युद्धको नेतृत्व गर्नुपर्छ भन्ने माग गर्नुभएको थियो ।

युद्ध मन्त्रिपरिषद्मा तीन सदस्य गेन्ट्ज, नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट हुनुुहुन्थ्यो । उहाँहरूले मिलेर युद्धका क्रममा महत्त्वपूर्ण निर्णय गर्नुभएको थियो ।

इजराइलले थप महत्त्वपूर्ण निर्णयको सामना गर्नुपरिरहेको बेला युद्ध मन्त्रिपरिषद् समाप्त गर्ने कदम चालिएको छ ।

हमासको आक्रमणका क्रममा बन्धक बनाइएका मानिसहरूको रिहाइको बदलामा इजराइल र हमासले युद्धविरामको पछिल्लो प्रस्तावमाथि विचार गरिरहेका छन् ।

इजराइली सेना अहिले पनि गाजा पट्टीमा फसेका छन् । उनीहरू दक्षिणी सहर रफाह र अन्य स्थानमा हमासको पुनरुत्थानविरुद्ध लडिरहेका छन् । साथै इजराइल र लेबनानी हिजबुल्लाह लडाकू समूहबीच हिंसा जारी छ ।

सम्पूर्ण युद्धमा नेतान्याहुले इजराइलको शीर्ष सहयोगी अमेरिका, युद्धको बढ्दो विश्वव्यापी विरोध तथा आफ्ना सरकारी सहयोगीहरू वित्तमन्त्री बेजेलेज स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरको दबाबबीच सन्तुलन बनाउने भूमिका निर्वाह गर्नुभएको छ ।

दुवै मन्त्रीले इजराइलले युद्धविराम सम्झौतामा अघि बढेमा सरकार ढाल्ने धम्की दिनुभएको छ । विचाराधीन पछिल्लो प्रस्ताव युद्ध अन्त्य गर्न सहयोग गर्नका लागि बाइडेन प्रशासनको सबैभन्दा केन्द्रित प्रयासको हिस्सा हो ।