• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल



काठमाडौँ । जारी आईसीसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि सोमबार पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्दैछ । किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा हुनलागेको खेल बिहान ०५:१५ बजे सुरु हुनेछ ।

भोली नेपाल बंगलादेशसँग १० वर्षअघि व्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपको पहिलो चरणमा नेपालले घरेलु टोलीसँग पराजित भएको थियो । पराजित भएसँगै नेपाल नेट रनरेटमा पछाडि रहेर दोस्रो चरण पुग्न सकेको थिएन ।नेपालभन्दा अगाडि रन रेटमा रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो । झिनो अन्तरका कारण नेपाल ‘सुपर टेन’ चरणमा पुग्नबाट वञ्चित भएको थियो ।

नेपाल जारी विश्वकपमा उपाधि होडबाट बाहिरिइसकेकोले बंगलादेशविरुद्ध पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मैदानमा ओर्लने छ । तर, बंगलादेशको लागि भने भोलीको खेल निकै महत्वपूर्ण रहेको छ । हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागेको छ । बाँकि एक टोली भने नेपालको समुह डी बाट जानेछन् । जसमा बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।

नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेल पनि भोलि सोमबार बिहान ०६:१५ बजे सुरु हुनेछ । समूह ‘डी’ मा हालसम्म दक्षिण अफ्रिका चार खेलमा सबै जित्दै शिर्ष स्थानमा रहदै ‘सुपर–८’ मा पुगिसकेको छ । चार अङ्कसहित बंगलादेश दोस्रो र दुई अङ्कसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसीन छन् । एक अङ्क बटुलेको नेपाल र श्रीलंका भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ ।

आइतबारको खेलमा नेपाललाई पराजित गरे बंगलादेश ६ अङ्कसहित सजिलै ‘सुपर–८’ चरणमा पुग्नेछ । नेपाल र बंगलादेशबिचको खेल बराबरी वा अनिर्णीत रूपमा सकिए पनि पाँच अङ्कसहित बंगलादेश ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछ । तर, उक्त खेलमा नेपालसँग पराजित भएमा नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेलको नतिजापछि मात्र ‘सुपर–८’ चरणमा पुग्ने आठौँ टोलीको टुङ्गो लाग्नेछ ।

जारी विश्वकपमा नेपालले यसअघि तीन खेल खेलेकोमा दुई खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णीत रह्यो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलंकाबिच हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा भने नेपाली टोली बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग केवल एक रनले पराजित भएको थियो ।

नेपालको सम्भावित प्लेईङ​ ११:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्नस झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।

बंगलादेशको सम्भावित प्लेईङ​ ११:

नजमुल होसैन सान्तो (कप्तान), तानजिद हसन, लिटन दास (विकेटकिपर), सकिब अल हसन, तोहिद हृदोय, महमुदुल्लाह, जाकेर अली, रिसाद होसैन, तानजिम हसन, तास्किन अहमद र मुस्तफिजुर रहमान ।