• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज पाउलान् त विश्वासको मत ?



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

पाण्डेले यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिलेको प्रदेशसभाको अंकगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन् ।

विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ । विपक्षी एमाले–माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि उनलाई बहुमत पुग्दैन । यद्यपि उनीहरुले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिनेबारे अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मतबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताएका छन् ।

मनाङ ‘ख’बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले भने ३० प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ उसैलाई निर्णायक मत दिने बताउँदै आएका छन् । गुरुङ अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा–२ ‘क’ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीले आफ्नै संसदीय दलको सदस्य दाबी गर्दै आएको छ । देवकोटालाई मतदानमा दलको ह्विप लाग्ने माओवादीको भनाइ छ । यसअघि उनले एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई विश्वासको मत दिएका थिए ।

यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आए पनि पाण्डेलाई सरकार टिकाउन थप एक मतको खाँचो पर्छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताएका छन् ।