• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

ओली र देउवालाई जोड्न विनोद चौधरी किन छन् सक्रिय ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजुसहित बालकोट पुगेको विषयले राजनीतिक रुपमा चर्चा पाइरहेको छ । यो भेटलाई सत्ता समीकरणको कसरतका रुपमा पनि धेरैले बुझेका छन् ।

प्रमुख सत्तारुढ दलको नेता र प्रतिपक्षी दलका नेताबीच भेटवार्ता हुनु खासै ठूलो कुरा होइन । तर नेपाली राजनीतिमा यस्तै भेटघाटले नै गठबन्धन परिवर्तन भएका धेरै उदाहरण छन् । त्यही कारण पनि ओली र देउवाबीचको भेटवार्ताले आशंका बढाएको छ । कांग्रेस र एमालेका नेताहरुले दुई नेताबीचको भेटलाई सम्बन्ध सुधारको अर्थमा लिएका छन् ।

पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ । बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।

यो तर यो भेटघाटको चाँजोपाँजो भने नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मिलाएका हुन् । कांग्रेसका सांसद भए पनि चौधरीको सम्बन्ध ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि उत्तिकै छ । उनले केही दिनअघिदेखि एमाले अध्यक्ष ओलीसँग पटकपटक भेटघाट गरिसकेका छन् । धेरै जसो भेटघाट ओली निवास बाल्कोटमै हुने गरेको छ । त्यही क्रममा उनले देउवा र ओलीबीचको सम्बन्ध सुमधुर बनाउने प्रयास गरेका हुन् ।

रास्वपाका स्थापना दिवसको अवसरमा आयोजित चियापानमा पनि ओली र चौधरीबीच लामै कुराकानी भएका थिए । त्यहि साँझ ओली निवासमा चौधरी पुगेका थिए । चौधरीकै सक्रियतामा देउवाले ओलीसँग यो साता दुई पटक एक्लाएक्लै र एकपटक पत्नी आरजु राणासहित भेटवार्ता गरेका छन् ।

त्यसो त ओली र देउवालाई मिलाउन विनोद चौधरीको पनि छुट्टै स्वार्थ छ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा चौधरीमाथि आरोप लाग्दै आएको छ । अहिले पनि यो विषयमा प्रहरीको छानबिन जारी छ । कांग्रेस र एमालेलाई मिलाउन सके आफूलाई सहज हुने बुझाई चौधरीको छ ।

त्यति मात्रै होइन, अहिले गृहमन्त्री रवि लामिछाने भ्रष्टाचार र अनियमितताका विषयमा कठोर हुँदै आएका छन् । उनले सरकारी जग्गा अतिक्रमण, हिनामिनादेखि शक्तिको दुरुपयोगका विषयमा छानबिन गरिरहेका छन् । विगतका धेरै विषयका निर्णयमा अनुसन्धान गर्दा आफ्ना नेताहरु नै कारबाही पर्ने भय कांग्रेसलाई छ । यसले गर्दा पनि ओलीसँग सम्बन्ध सुधार गरेर आफ्ना नेतालाई कारबाहीबाट जोगाउन पनि देउवाले ओलीसँग बालकोटमै पुगेर भेट गरेका हुन् ।