१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज पाउलान् त विश्वासको मत ?



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

पाण्डेले यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिलेको प्रदेशसभाको अंकगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन् ।

विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ । विपक्षी एमाले–माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि उनलाई बहुमत पुग्दैन । यद्यपि उनीहरुले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिनेबारे अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मतबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताएका छन् ।

मनाङ ‘ख’बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले भने ३० प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ उसैलाई निर्णायक मत दिने बताउँदै आएका छन् । गुरुङ अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा–२ ‘क’ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीले आफ्नै संसदीय दलको सदस्य दाबी गर्दै आएको छ । देवकोटालाई मतदानमा दलको ह्विप लाग्ने माओवादीको भनाइ छ । यसअघि उनले एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई विश्वासको मत दिएका थिए ।

यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आए पनि पाण्डेलाई सरकार टिकाउन थप एक मतको खाँचो पर्छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताएका छन् ।