३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ

चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
अ+ अ-

गोरखा। आज चार वर्षकी कृष्टिनाको घरभरि मान्छे झुम्मिएका छन् । घरको भुइँतलाको एउटा कोठामा उनकी हजुरआमा जुनामाया पण्डित घरी बेहोस हुने, घरी सम्हालिने गरिरहेकी छिन् । होसमा आएका बेला उनी चिच्याउँछिन्, “ए राजा, मलाई रानी बनाएर राखेका थियौ । अहिले कहाँ गयौ ?”

कृष्टिनालाई आफ्नो घरमा के भइरहेको छ भन्ने जिज्ञासा त हुँदो हो मनमनै तर, उनका कलिला मनले त्यति बुझ्न भ्याएको छैन । उनलाई त आफ्नो घरभरि मान्छे आएकामा ठिकै लागेको छ । किनकी, कृष्टिनालाई काखमा राख्ने र बोक्ने मान्छेको कमी छैन त्यहाँ ।

काखमा लिने मान्छे जतिसुकै किन भए पनि मानिसले आफ्नो आमा सम्झन्छिन् र आफ्ना बाबालाई पनि । कृष्टिना त झनै सानी बालिका । एकछिन, एकछिन खेलेपछि हजुरआमा अनि काखमा लिनेहरूलाई सोधिरहन्छिन्, “मेरो ममी बाबा कहिले आउँछ ?”

अवोध ती बालिकाको यति गह्रुङ्गो प्रश्नको उत्तर न त जुनामायासँग छ, न त्यहाँ जम्मा भएका उनका छरछिमेकीसँग । कृष्टिनाले हरेकपटक आफ्नो आमा, बाबा खोज्दा जुनामायालाई भविष्यको डरलाग्दो बास्तविकताले घोचिरहेको छ ।

बुढेसकालमा एक्लै कलिला नाता, नातिनीलाई कसरी हुर्काउने, बढाउने ? कृष्टिनामाथिको नौ वर्षका नाति कृष्टल पण्डित पनि जुनामायाको साथैमा छ । जेठो कृष्टल बहिनीजस्तो बेखबर छैनन् । चितवनमा बस्ने अङ्कलका छोरीहरूलाई म्यासेज गर्छन् रे उनले, “मेरो ममी, बाबालाई के भा’ छ ? आमा किन रोएको ?” भनेर ।

“कसैको मोबाइल भेट्नै हुन्न, मेरो छोरीहरूलाई म्यासेज गर्ने रहेछ”, छिमेकी नर्मदा देवकोटाले भनिन्, “बाबु बुझ्ने भइसक्यो, मोबाइलमा आको बाढीको भिडियोहरू हेर्दो हो । सुरमा कुरा गर्दैन । आउँछ, केही हुन्नमात्र भन्छ । घरमा बस्दैन ।” घरको भीडभाडले उसको मन बिच्किँदो हो ।

सामाजिक सञ्जालमा यत्रतत्र आएका भिडियोहरूले आफ्नो मान्छेको पर्खाइमा बसेका कृष्टल र जुनामायाको घाउमाथि नुन भएजस्तै भएको छ । बुधबार भोटेकोशीमा आएको बाढीमा परेर गोसाइँकुण्ड तीर्थयात्रामा गएका पालुङ्टार नगरपालिका–५ ठाँटीपोखरीका जुनामायाका छोरा केदार पण्डित र बुहारी सरिता अधिकारी सम्पर्कविहीन छन् । उनीहरूसँगै ठाँटीपोखरीबाट तीर्थ गएका ३६ जनामध्ये छ जना सकुशल छन् । २९ जनाको अवस्था अज्ञात छ । एकजनाको शव चितवनमा फेलापरेको छ ।

पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित चारकुनेका केदार र सरिता दुवैजना सरकारी विद्यालयका शिक्षक हुन् । उनीहरू बुधबार बिहान ४ः३० बजेतिर गाउँलेहरूको साथमा गोसाइँकुण्ड तीर्थका लागि घरबाट हिँडेका थिए । जुनामायाले नै छोराबुहारीलाई यात्रामा चाहिने सबै सरसामान जुटाएर पठाएकी थिइन् । आफू त्यति हिँड्न नसक्ने भएर चार दिनका लागि घर र नाति, नातिनीको जिम्मा लिएकी थिइन् उनले । छोरा बुहारीबाट लिएको त्यो चार दिनको जिम्मेवारी अब जुनामायाको सधैँ, सधैँको जिम्मेवारी बनेको छ ।

साढे दुई वर्षअघि मात्र श्रीमान् गुमाएकी थिइन् जुनामायाले । तीर्थ गएका छोराबुहारी पनि अब फर्कन्नन् रे भन्ने हल्ला चलेको छ, गाउँमा । बूढेसकालको एक्लो ज्यान, अरुमा आश्रित हुनुपर्ने बेला कलिला बालबालिका कसरी हुर्काउने भन्ने चिन्ताको सागर भोटेकोशीझैँ फुटेको छ, उनीमाथि ।

“नरो बाबु, नरो । यी कलिला बालबच्चालाई हुर्काइदे अब”, जुनामायाको चित्कारपछि उनकी सखी नर्मदा देवकोटाले भनिन् । नर्मदा पनि कम पीडामा छैनन् । बाढीले उनकी काइली बुहारी दुर्गादेवीलाई पनि बेपत्ता बनाएको छ ।

गाउँका प्रायः सबै घरमा यस्तै–यस्तै पीडाले ठाँटीपोखरी यतिबेला शोकाकुल छ । स्थानीय लक्ष्मण गिरीका अनुसार माझटार टोलबाट बाढीमा मान्छे नपरेको एउटै घर छैन । कसको घरबाट कति मान्छे परे र कसको घरको अवस्था कस्तो भन्ने आधारमा उनीहरूले को बढी दुःखी भन्ने मापन गर्नुपरेको छ । सोही आधारमा बढी दुःखीको घरमा कम दुःखीहरू गएर सहानुभूति दिँदैछन् । एकअर्कालाई सम्झाउँदैछन् ।

घरघरमा शोकमा डुबेकाहरूलाई सम्हाल्न, सहानुभूति दिन कम शोकाकूल महिलाहरूको लर्को देखिन्छ । गाउँलेहरू कहाँ बेपत्ता भए, जिउँदा वा मृतावस्थामा कहाँ भेटिएला भन्ने दौडधुपमा पुरुषहरू छन् । शोकाकूल पालुङटारवासी चोक चौतारामा भेला हुने, अब कसरी पीडा सम्हाल्ने, कसरी व्यवस्थापन गर्ने भन्ने योजना बुन्दैछन् ।

गत भदौ १० गते करिब ८ः५० बजे नुवाकोटको लेन्देखोला आसपासबाट बाढीमा बेपत्ता भएको ग२ख ११५२ नम्बरको बस र त्यसमा सवार सो ३६ जना यात्रुमध्ये छ यात्रु हाम्फालेर ज्यान बचाएका पालुङटार नगरपालिकाले जनाएको छ ।

सो बसमा सवार सागर देवकोटा, राममाया देवकोटा, पद्मकुमारी देवकोटा, तारा रानाभाट, रामहरि देवकोटा, सुजाता कौडाल, दुर्गादेवी देवकोटा, सपना देवकोटा, कृष्णकला सपना, मायादेवी देवकोटा, नानुमाया थापा, दुर्गा देवकोटा, चिनीमाया खत्री, शारदा देवकोटा, मुक्ति अम्गाई, मीठुमाया अम्गाईँ, घनश्याम देवकोटा, सम्झना देवकोटा, मायादेवी खड्का, सुस्मा न्यौपाने, केदार पण्डित, सरिता अधिकारी पण्डित, मधुमाया पण्डित, कमला पण्डित, दिलबहादुर खत्री, मुरारी खत्री, सुमी कुमाल, सुस्मिता कुँवर र गोमा पपने आजसम्म सम्पर्कविहीन रहेका पालुङ्टार नगरपालिकाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । कमला देवकोटाको शव भने बिहीबार चितवनको देवघाट क्षेत्रमा फेलापरेको पालिकाको भनाइ छ । रासस