काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको बारेमा संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रश्न उठ्यो । उनी सर्वोच्चको न्यायाधीश हुनुअघि प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएको समयमा महान्यायाधिवक्ता थिए । सर्वोच्चमा तिनै प्रधानमन्त्री ओलीलाई विपक्षी बनाएर हालिएको मुद्दाका लागि गठन भएको संवैधानिक इजलासमा कार्की पनि छन् । त्यसैले उनको इजलासमा बहस हुन नहुने प्रश्न कानुन व्यवसायीबाट उठेपछि कार्की आफू सो इजलासमा नबस्ने बताए ।
तर उनलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्नु अघिको संसदीय सुनुवाईका क्रममा पनि सांसदहरुले यो प्रश्न गरेका थिए । त्यस क्रममा उनले दिएको जवाफ यस्तो छ ः
“म एक कानुन व्यवसायीको हैसियतमा रहेर मैले जति पनि सल्लाह दिएको छु सबैमा मैले मेरो व्यवसायलाई सम्झिएर व्यवसायिक सल्लाह दिएको छु । म महान्यायाधिवक्ताका रुपमा रहेर काम गर्दा पनि मैले आफ्नो व्यवसायिकता मर्न दिएको थिइन, छैन । मैले कानुन व्यवसायीका रुपमा रहेर नेपाल बार एसोसिएसनको अध्यक्ष हुदा या महासचिव हुँदा पनि कानुनी धर्म छोडेको छैन । मैले राष्ट्रपतिलाई होस, चाहे प्रधानमन्त्रीलाई कानुनी सल्लाह दिने काममा होस् या कुनै संघसंस्थामा कानुनी सल्लाहकार रहेर सल्लाह दिने काममा होस् म आफ्नो व्यवसायिकताबाट बिचलित भएको छैन । मेरो कानुन व्यवसायीको धर्मको मैले सदैव स्मरण गर्ने गरेको छु ।”








