• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो 



विराटनगर, २४ जेठ स् कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अपराधरहित समाज निर्माण गर्नमा प्रहरी सङ्गठनको भूमिका अग्रणी रहने बताउनुभएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आयोजित महिला हिंसा तथा मानव बेचविखन विरुद्ध जनचेतनामूलक भिडियो सार्वजनिकीकरण गर्दै उहाँले प्रहरी सङ्गठनबिना अपराधरहित समाज परिकल्पना गर्न नसकिने बताउनुभएको हो । उहाँले प्रहरी सङ्गठनलाईं समयसापेक्ष सुदृढ र बलियो बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।
रातारात धन कमाउने चाहनाले समाजमा अपराध हुने गरेकाले यस्ता  अपराध रोक्न सचेतनामूलक भिडियो निकै फलदायी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो, “प्रहरी छ भनेर नै हामी शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छौँ ।”
महिला बेचविखनको घटना निकै निन्दनीय भएको उहाँको भनाइ थियो । “समाजले नरुचाएको र नचाहेको विषयमा प्रहरी गम्भीर बन्नुुपर्छ”, मन्त्री राईले भन्नुभयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङ्गले प्रहरी सङ्गठन अपराध नियन्त्रण गर्न र समाजमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजलाई सचेत गराउन सकिने सूचना, समाचार वा भिडियो प्रहरीले आफ्ना मोबाइलबाट सामाजिक सञ्जालमा व्यापक शेयर गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “समाजमा एक जनालाई पनि सचेत गराउन सकेमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।”
प्रहरी उपरीक्षक सुमन तिमल्सेनाले फरक कोणबाट अपराध गरे पनि प्रहरीको अनुसन्धान र कारबाहीबाट भाग्न नसक्ने सन्देश भिडियोमार्फत दिनुभएको छ । १० मिनेटको सो भिडियोमा प्रलोभनमा पारी युवायुवतीलाई कसरी दलालले जालमा फसाउँछ र ती दलाललाई समात्न प्रहरी कसरी सफल हुन्छन् भन्ने विषय प्रस्तुत गरिएको छ । रासस