७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभाजित भएको पार्टीलाई पुनः एकीकरण गर्न सकिन्छः वामेदव गौतम



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामेदव गौतमले विभाजित भएको पार्टीलाई पुनः एकीकरण गर्न सकिने बताउनुभएको छ । पार्टी एकताको अभियानमा संगठितरुपमा जुट्नुपर्नेमा जोड दिँदै एकताको सम्भावना अझै बाँकी रहेकाले गालीगलौजमा नउत्रिन आग्रह गर्नुभएको हो । शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाका सांसदसमेत रहनुभएका उपाध्यक्ष गौतमले सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउन पनि आग्रह गर्नुभएको छ । ‘नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस् । हाम्रो प्यारो पार्टी र पार्टीका सबै नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ।’ –विज्ञप्तिमा भनिएको छ ।

उपाध्यक्ष गौतमले नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको बताउँदै अहिलेको संकटले जुर्मुराउँदै उठेको नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजनतर्फ धकेलिरहेको बताउनुभयो । सरकार सञ्चालनको एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतीत नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भएको गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक भएको टिप्पणी गर्दै पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले बेहोर्नुपर्ने अवस्था सृजना भएको बताउनुभएको छ ।

गौतमले पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधिसभालाई दुरुपयोग गर्नेसम्मका घटना घटनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था भएको टिप्पणी गर्नुभएको छ । आफूले दुवै समूहलाई समर्थन नगरी नेकपाको एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकलाई हार्दिक अपिल गर्दै आएको उल्लेख गर्नुभएको छ ।

एकअर्कालाई दोष दिँदै सामान्य मानमर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीहरुलाई हँसाउँदै शुरु गर्नुभएको लडाइँ बन्द गर्न पनि गौतमले आग्रह गर्नुभएको छ । ‘फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं शहीदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढंगबाट हल गरौं।’ –विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल समाचारपत्र दैनिक