१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईबाट फर्केर तरकारीखेती



अ+ अ-

देउखुरी (दाङ):  बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् । यो दृश्य घोराही उपमहानगरपालिका–६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो । उहाँले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारीखेती गर्नुभएको छ । जग्गा भाडा मात्रै वार्षिक रु एक लाख २८ हजार तिर्नुहुन्छ ।

उहाँले काँक्रा, बोडी, टमाटर, खरबुजा  र घिराँैलालगायत तरकारी लगाउनुभएको छ । “उत्पादित तरकारी वैशाखदेखि बिक्री सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म चार लाख आम्दानी भएको छ ।” व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताउनुभएका स्रष्टाले फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारीखेतीमा लाग्नुभएको बताउनुभयो ।

दुबईमा ‘अप्रेसन कन्ट्रोलर’का रुपमा यातायातमा काम गरेको अनुभव उहाँसँग छ । “उता पनि कमाई राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उहाँले भन्नुभयो ।

तरकारीखेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उहाँको भनाइ छ । दुईजनालाई फार्ममै बस्ने व्यवस्था गर्नुभएको छ । आवश्यकताअनुसार दैनिक छदेखि आठ जनालाई रोजगारी दिने गरेको उहाँले बताउनुभयो ।

स्थानीय सरकारले विदेशबाट फर्केर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उहाँले बताउनुभयो । सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उहाँको योजना छ ।रासस