२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘न्युट्रालिटी एम्पाएरिङ’ को पक्षमा: प्रधानमन्त्री ओली



अ+ अ-

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुक भूगोल र जनसंख्याका हिसाबले सानो–ठूलो नहुने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा उनले एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले सम्बन्ध हुनुपर्ने जिकिर गरेका छन् । ‘यो पुरानो जमाना होइन, यो स्वाधीनता र पारस्परिक सम्मानको समय हो,’ उनले भने । कुनै पनि विषयमा बहस हुँदैमा त्यसलाई अन्यथा मान्न नहुने पनि ओलीको भनाइ थियो । ओलीले त्रेतायुगदेखि नै दर्शनको सुरुवात भएको हुँदा स्वस्थ बहस हुनु राम्रो भएको बताए । उनले त्यस्तो बहस सत्य बाहिर ल्याउनका लागि हुनुपर्नेमा जोड दिए ।

भारतलाई ठूलो दाजु मान्न अस्वीकार गरेको भन्ने प्रश्नमा ओलीले उमेरमा मोदी ठूलो भए पनि प्रधानमन्त्रीका रूपमा एउटा सार्वभौम मुलुकका हिसाबले सम्बन्ध रहने बताए । ‘मोदीजीलाई व्यक्तिगत रूपमा सम्मान गर्छु तर देश सानो–ठूलो हुँदैन,’ उनले भने । तर, यसलाई मोदीलाई सम्मान गरेन र बराबरी ठान्यो भनेर गलत अर्थमा बुझ्ने गरेको उनले बताए ।प्रधानमन्त्री ओलीले भारत र चीन दुवै छिमेकी भएको हुँदा नेपाल एक–अर्काविरुद्ध कार्ड खेल्ने पक्षमा नरहेको प्रस्ट पारे । ‘एक–अर्काविरुद्ध कार्ड खेल्ने कुरा होइन, यसले राम्रो गर्दैन, कार्ड खेल्ने र छक्याउने काम तुरुन्त बन्द गर्नुपर्छ,’ उनले भने । दुवै छिमेकी विकासमा अगाडि भएकाले नेपालका लागि राम्रो अवसर भएको समेत उनले उल्लेख गरे ।

चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा विवाद र नेपालले नयाँ राजनीतिक नक्सासँग कुनै सम्बन्ध नरहेको समेत ओलीले प्रस्ट पारेका छन् । उनले भने, ‘गलवानसँग नेपालको कुनै सरोकार छैन, दिल्लीले नेपालको भूभाग राखेर किन नयाँ नक्सा निकाल्यो रु कश्मीर र लद्दाखमै किन सीमित नभएको रु त्यसपछि हामीले कूटनीतिक नोट पठायौं । वार्ताको प्रस्ताव गर्‍यौं । कुनै सकारात्मक जवाफ आएन । फेरि हाम्रो भूमिमा सडक बनाएर उद्घाटन गरियो । हामीले विरोध गर्‍यौं । त्यहाँ गलवानको विषयलाई किन जोड्ने रु’ नेपालले सधैं तटस्थताको नीति लिएको हुँदा दुई देशको राजनीतिमा कसैको पक्ष नलिनेमा पनि उनले जोड दिए । बरु नेपालले दुई देशबीच सम्बन्ध सुधार गर्न वार्ताको पहल गर्न सक्नेसमेत ओलीको भनाइ थियो ।

भारतमा पछिल्लो समय नेपालले चीनको पक्ष लिइरहेको भन्ने बुझाइ गलत रहेको ओलीले बताए । उनले दुई ठूला हात्तीको द्वन्द्व र मित्रताको प्रसंग केलाउँदै नेपालले दुवै छिमेकीसँग सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको जनाए । ‘दुई हात्ती मिले पनि मैदान साफ, नमिले पनि साफ । तर दुई हात्ती मिले मैदान साफ भन्ने कुराचाहिँ म हटाउन चाहन्छु,’ उनले भने ।अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘भारत र चीन दुवै हाम्रा मित्रराष्ट्र हुन् । दुवै देश साथी नै हुन् । भारत–चीन विवाद नेपालको हितमा पनि हुँदैन । हामी कुनै देशविरुद्ध कार्ड प्रयोग गर्दैनौं । हामी दुवै देशबीच सन्तुलित सम्बन्ध विकास गर्न चाहन्छौं । दुई देशबीच विवाद बढ्दै गएको त्यसको असर नेपालले पनि भोग्नुपर्नेछ । त्यसैले हामी दुई देशबीच शान्ति र विकासका पक्षमा सहकार्य होस् भन्ने चाहन्छौं ।’

ओलीले अगाडि भने, ‘दुवै देशका नेता हाम्रा साथी हुन् । म चिनियाँ राष्ट्रपति सी चिनफिङजीसँग पनि कुरा गर्न सक्छु । प्रधानमन्त्री ली कछ्याङजीसँग र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि कुरा गर्न सक्छु । हामीहरु साथीजस्तै मात्रै होइनौं, साथी नै हौं ।’ त्यस्तै प्रधानमन्त्री ओलीले नेपालको जमिन र आकाश कुनै देशविरुद्ध पनि प्रयोग गर्न नदिने बताए ।ओलीले भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने पक्षमा रहेको संकेत गरेका छन् । वैशाखमा घोषणा गरिएको चुनावमा आफ्नो पार्टीले बहुमत पाउने र नभए कम्तीमा पहिलो दल बन्ने उनको दाबी थियो । ‘बहुमत ल्याउँछौं, नभए सबैभन्दा ठूलो दल त बन्छौं नै, चुनावपछि दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँछौं,’ उनले भने । प्रधानमन्त्री ओलीले अहिलेको जमाना विगतमा जस्तो अरूलाई लुट्ने नभएर आफैंले विकास गर्ने भएको र त्यो शान्तिबाट मात्र सम्भव हुने जिकिर गरे ।

शान्ति नभए विकासमा खर्च गर्नुपर्ने स्रोत र साधन शान्ति कायम गर्न खर्चिनुपर्ने उनको भनाइ थियो । ‘त्यसैले हामी दुवै छिमेकीबीच राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौं,’ उनले भने । भारतसँगको जस्तो रोटीबेटी र विशेष सम्बन्ध चीनसँग पनि बन्न सक्छ भन्ने प्रश्नको जवाफमा भने उनले भारत वर्ष, हिमवत खण्ड र ऋषिमुनिहरूका बारेमा लामो व्याख्या दिए । ‘सन् २०१४ मा मोदी सत्तामा आएपछि देखिएको राष्ट्रवादको लहरलाई अनुसरण गर्नुभएको हो रु’ भन्ने प्रश्नमा ओलीले अहिले औपनिवेशकालीन जमाना नभएको र त्यसको अवशेष छ भने त्यसलाई मनमस्तिष्कबाट समाप्त पार्नुपर्ने जवाफ दिए । उनले अखण्ड भारत कहिल्यै नभएको, पूरै भारत वर्षअन्तर्गत विभिन्न राज्य रहेको दाबी गरे । राम जन्मभूमिको विषयलाई भने ओलीले धेरै महत्त्व दिएनन् । उनले आफूले यस विषयमा विवाद गर्नेभन्दा पनि रामको पवित्र जन्मभूमि पहिचान हुनुपर्छ मात्र भनेको बताए । आफूले इतिहास र कूटनीतिलाई मिसाउन नखोजेको समेत उनले जिकिर गरे ।

चीन र भारतसँग नेपालको सम्बन्धको सन्दर्भमा भारतसँग नेपालको धेरै भाषा मिल्नुका साथै कर्णाली, कोसीलगायतका नदी बगेर जाने तर त्यहाँ रहेका माछा र चरालाई सीमाको मतलव नहुने उनको भनाइ थियो । भारतले सत्य र तथ्यलाई मान्नुपर्ने र भावनालाई बुझ्नुपर्ने उनले बताए ।

नक्सा भारतले पनि निकाल्ने गरेकाले नेपालले नक्सा निकाल्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘भारत र पाकिस्तानले पनि बेग्लाबेग्लै नक्सा निकालेका छन्, त्यसैले जुन दिन विवाद सुल्झिन्छ, त्यो दिन हाम्रो पनि एउटै नक्सा निकालिनेछ,’ उनले भने । उनले सीमा सम्बन्धमा भारतले गरेको जस्तो व्यवहार चीनले गर्दा पनि नेपालले त्यस्तै व्यवहार गर्ने दाबी गरे । ‘सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा सानो र ठूलो भन्ने हुँदैन, हामी सबैसँग समान व्यवहार गर्छौं,’ उनले प्रस्ट्याए । कान्तिपुर दैनिक