१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न

पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा

पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा
अ अ+ अ-

गण्डकी । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो ।

कास्कीको मादी गाउँपालिका–७ खतेडाँडाका भीमबहादुर तामाङ घरछेउको सडक कालोपत्र भएपछि मक्ख हुनुहुन्छ । सडक राम्रो बनेपछि दैनिकी सहज भएको उहाँले सुनाउनुभयो । “पहिले दिनभर हिँडेर पोखरा आउजाउ गर्नुथ्र्यो, अहिले आधा–एक घण्टामै पुगिन्छ”, तामाङले भन्नुभयो, “यस क्षेत्रमा आउने पर्यटकलाई पनि धेरै सहज भएको छ ।” लामो समयसम्म कच्ची रहेको सडक कालोपत्र हुँदा गाउँको मुहार नै फेरिएझैँ भएको उहाँले बताउनुभयो ।

मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक हालै कालोपत्र भएको जानकारी दिनुभयो । उहाँका अनुसार थाकबाट मादी–६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । “अब सिक्लेससम्मको १४ किमी सडक कालोपत्र हुन बाँकी छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “बाँकी खण्ड कालोपत्रका लागि स्रोत जुटाउन पहल भइरहेको छ ।” मार्ग खुलेको झन्डै दुई दशकपछि पोखरा–सिक्लेस सडक स्तरोन्नतिको कामले गति लिएको उहाँको भनाइ छ । “प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा यसलाई अघि बढाएसँगै बजेटमा पनि प्राथमिकता पाएको छ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत विजयपुरखोलाबाट थाकसम्म पहिलो चरणको काम सकिएको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । विजयपुरखोला–थाक खण्डमा काष्ठमण्डप जेभीले रु २२ करोड २६ लाख ७८ हजारमा ठेक्का लिएर काम गरेको थियो ।

पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागेको बताउनुभयो । “अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार काम गरिरहेको छ”, उहाँले भन्नुभयो । थाक–चिप्ली खण्ड स्तरोन्नतिको जिम्मा रौताहा निर्माण कम्पनीले लिएको छ ।

रु २५ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको रौताहा निर्माण कम्पनीका सब–इन्जिनियर भरत थापाले जानकारी दिनुभयो । “३० महिनाको ठेक्का अवधि हो, सात महिना अझै बाँकी छ, समयमै सक्ने गरी कामलाई तीव्रता दिएको छौँ”, उहाँले भन्नुभयो, “कालोपत्रका लागि गिट्टी, बालुवालगायत नदीजन्य सामग्रीको भने अभाव भइरहेको छ, वैकल्पिक व्यवस्था गरेर काम गरिरहेका छौँ ।”

मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताउनुभयो । “अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सकिन्छ, कालोपत्र सडक सिक्लेसम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ”, उहाँले भन्नुभयो, “बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।”

पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ । प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्‍याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो ।

वडाध्यक्ष देवीजङ्गले सडक स्तरोन्नति भएसँगै सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताउनुभयो । “सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय सिक्लेसबाट कोरी र कपुचे तालसम्मको पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थप बढेको उहाँको भनाइ छ । सिक्लेसबाट कोरीसम्म केबुलकार सञ्चालनका लागि पनि एक निजी कम्पनीले अध्ययन गरिरहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

हिमशृङ्खला अवलोकनसँगै प्रकृति, ग्रामीण परिवेश र संस्कृतिको आनन्द लिन पर्यटक सिक्लेस पुग्ने गर्दछन् । गुरुङ बाहुल्य सिक्लेस प्रदेश राजधानी पोखराबाट ३८ किमीको दूरीमा अवस्थित छ । रासस