१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न

बजेट अभावमा खानेपानी आयोजना अधुरै

बजेट अभावमा खानेपानी आयोजना अधुरै
अ अ+ अ-

ढोरपाटन । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् ।

बडिगाड गाउँपालिका–३ मा चरम खानेपानीको अभाव भएपछि आर्थिक वर्ष २०६७/६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । उक्त आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।

रु दुई करोड ८५ लाख २९ हजारमा काम सक्ने गरी सुरु भएको आयोजना १२ वर्षसम्म पनि ६४ प्रतिशत मात्रै काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । आयोजनाको लागत ठूलो हुने तर बजेट कम पर्दा समयमै सम्पन्न हुन नसकेको कार्यालयका प्रमुख किरण पौडेलले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १५ लाख मात्रै विनियोजन गरेको भन्दै आयोजना सम्पन्न गर्न अझै रु एक करोड चार लाख ७० हजार आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार यो योजनाका लागि हालसम्म रु एक करोड ८० लाख ५६ हजार खर्च भएको छ ।

ढोरपाटन नगरपालिका–२ र ३ मा आर्थिक वर्ष २०७४/७५ मा पम्पिङ खानेपानी आयोजना परेको थियो । आयोजना परे पनि लामो समय बजेट नपर्दा हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । चालु आवमा सरकारले रु १५ लाख विनियोजन गरेको थियो ।

रु पाँच करोड ३४ लाख ५२ हजार लागतमा निर्माण हुन लागेको उक्त आयोजना सम्पन्न गर्न अझै रु तीन करोड आवश्यक पर्ने खानेपानी डिभिजन कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो । हालसम्म यो आयोजानामा रु ८५ लाख ७९ हजार खर्च भएको उहाँको भनाइ छ ।

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको उपल्लाचौरमा आर्थिक वर्ष २०७५/७६ मा लामिचौर रमेटार खानेपानी आयोजना सञ्चालन भएको थियो । रु तीन करोड १४ लाख एक हजार लागतमा निर्माण थालिएको उक्त आयोजनाको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ ।

चालु आवमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न गर्नका लागि अझै रु तीन करोड ५५ लाख छ हजार आवश्यक पर्दछ । आव २०७६/७७ मा जिल्लाको बडिगाड गाउँपालिकामा भिरकटेरा खानेपानी आयोजना निर्माण सुरु गरिएको थियो । रु दुई करोड ९९ लाख ७९ हजार लागतमा निर्माण सुरु भएको आयोजनको हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

चालु आवमा उक्त आयोजनाका लागि रु १० लाख बजेट विनियोजन भएको जनाउँदै आयोजना सम्पन्न गर्न थप रु एक करोड ४० लाख आवश्यक पर्ने प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार यस आयोजनामा हालसम्म रु तीन करोड १४ लाख एक हजार खर्च भइसकेको छ ।

बडिगाड गाउँपालिका–४, ५ र ८ मा आव २०७६/७७ मा नेटाखर्क जलजला बृहत् खानेपानी आयोजना सुरु भएको थियो । छ करोड नौ लाख ९० हजार लागत निर्माण हुन थालेको यस आयोजनाको हालसम्म २० प्रतिशत काम सकिएको छ ।

चालु आवमा प्रदेश सरकारबाट रु १० लाख विनियोजन भएको भन्दै आयोजना सकिन अझै रु तीन करोड ७९ लाख ९४ हजार लाग्ने प्रमुख पौडेलले बताउनुभयो । यस आयोजानमा हालसम्म रु ६६ लाख २५ हजार मात्र खर्च भएको उहाँको भनाइ छ ।

“आयोजना निकै ठूला–ठूला छन् तर बजेट थोरै आउँदा समयमै काम सम्पन्न गर्न समस्या भएको छ । करोडौँका आयोजना छन्, बजेट रु १०/१५ लाख मात्रै आउँछ, यसरी हेर्दा एउटा आयोजना सकिन वर्षौं लाग्ने देखिन्छ”, प्रमुख पौडेलले भन्नुभयो, “बजेट अभावका कारण चाहेर पनि समयमै काम सम्पन्न गर्न सकिरहेका छैनौँ । आएको जति बजेटले धमाधम काम गरिरहेका छौँ ।”

ढोरपाटन नगरपालिका–२ का विकास सुनारले आयोजना सुरु भएको सात वर्षसम्म जम्मा २५ प्रतिशत काम हुनु दु:खद भएको बताउनुभयो । हिउँदको समयमा बुर्तिबाङसहित आसपासका ठाउँहरुमा खानेपानीको चरम अभाव हुने भन्दै यसतर्फ सरोकार भएकाको ध्यान नजाँदा आयोजनाको कामले गति लिन नसकेको उहाँको गुनासो छ ।

यहाँका हजारौँ नागरिक वर्षौंदेखि खानेपानीका लागि लाइन कुर्नुपर्ने बाध्यतामा रहेका भन्दै ती आयोजना सरकारको प्राथमिकतामा पर्न नसकेको सुनारले बताउनुभयो । “कतै करोडौँका योजना पर्छन्, करोडौँ बजेट पनि पुग्छ, तर यहाँका हजारौँ जनता खानेपानीको समस्याबाट ग्रसित छन्, आयोजना सुरु पनि भएको वर्षौं बितिसक्दा पनि बजेट अभावले काम सम्पन्न भएका छैनन्”, उहाँले भन्नुभयो, “करोडौँका आयोजनामा जम्मा रु १५ लाख आउँछ, यसरी २०औँ वर्षसम्म पनि काम सकिँदैन, जनता सधैँ खानेपानीको समस्यामा हुन्छन् ।” रासस