५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि…



अ+ अ-
काठमाडौँ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उहाँले वास्ता गर्नु भएन । विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाड्नुभयो । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने हुनुभयो । श्रीमतीको मृत्युपछि दुई वर्ष सम्म नातिको सहारामा हिँडडुल गर्नुभयो ।
उहाँको जीवनमा फेरि खुसी फर्किएको छ । एक सय दुई वर्षको उमेरमा उहाँको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उहाँको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उहाँका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो ।
नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो ।
दुई दिनअघि नातिको सहारामा आँखा शिविर आउनुभएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने हुनुभएको छ । शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उहाँले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गर्नुभयो । गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उहाँमा खुसीको सीमा छैन । “अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ”, उहाँले खुसी हुँदै भन्नुभयो । शल्यक्रियापछि पुनःसंसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिनुभयो ।
आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उहाँले धन्यवाद दिनुभयो । “मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपार्इँहरु सबै जना परमेश्वर हुनुहुन्छ”, सहरमानले भन्नुभयो ।
नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूकाअनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी बताउनुभयो ।
सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । रासस