२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

कर्णालीको पीडा बन्दै प्राकृतिक विपत

कर्णालीको पीडा बन्दै प्राकृतिक विपत
अ अ+ अ-

काणली । प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो ।
    
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावाहुरी र आगलागीबाट गरी रु १८ करोड २५ लाख बराबर धनजनको क्षति भएको छ । विपतबाट साउन महिनामा रु आठ करोड ४९ लाख तीन हजार ६८४ बराबरका धनजनको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 
    
त्यसैगरी भदौमा रु छ करोड ७१ लाख ६२ हजार ३०, असोजमा रु दुई करोड ५१ लाख ९१ हजार ३०० र कात्तिकमा रु ११ लाख ९० हजार ३०० बराबरको धनजनको क्षति भएको सहप्रवक्ता श्रेष्ठले बताउनुभयो । “गत साउन र भदौमा पहिरो र बाढीबाट धनजनको ठूलो क्षति भयो”, उहाँले भन्नुभयो, “यद्यपि थप क्षति हुनबाट कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको भूमिका राम्रो रह्यो ।”
    
प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार कर्णालीमा सबैभन्दा बढी क्षति क्रमशः पहिरो, आगलागी र बाढीबाट भएको पाइएको छ । चालू आवको चार महिनाको अवधिमा पहिरोबाट रु १० करोड ६० लाख ५१ हजार २८४, आगलागीबाट रु चार करोड ३७ लाख ९१ हजार ६३९ र बाढीबाट रु एक करोड ८२ लाख ९१ हजार ९३१ बराबर जनधनको क्षति भएको छ ।
    
हावाहुरीले भने यस प्रदेशमा रु आठ लाख र चट्याङले सबैभन्दा कम रु एक लाख दुई हजार ६०० बराबर जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयको अभिलेखमा छ । त्यस्तै प्राकृतिक विपत्तीले कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी हुम्ला जिल्लामा क्षति पु¥याएको छ । पहिरो र आगलागीका कारण हुम्लामा रु पाँच करोड ४४ लाख ९४ हजार १६० बराबर धनजनको क्षति भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
    
उहाँले अगाडि भन्नुभयो, “पहिराको जोखिमका हिसाबले दोस्रोमा दैलेख रहेको छ । यो वर्षको पहिलो चौमासिकमा दैलेखमा पहिराकै कारण रु चार करोड १२ लाख १६ हजार ९०० को जनधन क्षति भएको छ । सुर्खेत भने बाढी र आगलागीको चपेटामा परेको छ । ती दुवै विपत्तीबाट सुर्खेतले रु तीन करोड ४८ लाख दुई हजार ५०० बराबरको जनधनको क्षति व्यहोर्नु परेको छ ।” 
    
बाढी, पहिरो, आगलागी हावाहुरी, चट्याङजस्ता विपत्तीबाट जाजरकोटले रु एक करोड ९३ लाख सात हजार २५०, जुम्लाले रु एक करोड ४० लाख ५८ हजार १००, कालीकोटले रु ७८ लाख ३६ हजार ४३४, सल्यानले रु ३२ लाख ८२ हजार १३१, मुगुले रु २९ लाख ४२ हजार २०० र सबैभन्दा कम डोल्पाले रु १७ लाख ४२ हजार २०० बराबरको जनधनको क्षति व्यहोरेको छन् । 
    
साउनमा २२ वटा विपत्तीका घटना हुँदा ३७६ घर क्षति भएका छन् । त्यसबाट १९ महिला र १८ पुरुष गरी ३७ जनाको मृत्यु, पाँच जना बेपत्ता, ३१ घाइते, एक हजार ४१३ परिवार विस्थापित र २१२ पशुचौपायाको मृत्यु भएको छ । भदौमा २१ विपत्तीका घटनाबाट ३४३ घर क्षति, १४ पुरुष र छ महिला गरी २० जनाको मृत्यु, चार बेपत्ता, १७ घाइते, ५८८ परिवार विस्थापित र ३०३ पशुचौपायाको मृत्यु भएको जनाइएको छ ।
    
त्यस्तै असोजमा १३ विपत्तीका घटना घट्दा एक जना घाइते, ४५ परिवार विस्थापित तथा कात्तिकमा छ विपत्तीका घटनाबाट १६ घर क्षति, दुई महिला एक पुरुष गरी तीन जना मान्छे र तीन पशु चौपायाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो, बाढी र आगलागीका कारण कालीकोटले सबैभन्दा बढी मानवीय क्षति भोग्नुप¥यो ।
    
यो चार महिनाको अवधिमा विपत्तीका कारण कालीकोट जिल्लामा २३ महिला र २१ पुरुष गरी ४४ जनाले ज्यान गुमाए भने सात जना अझै बेपत्ता रहेका छन् । बाँकी मृत्यु हुनेमा अन्य जिल्लाका नागरिक रहेको प्रहरीले जनाएको छ । भूगर्भविद्हरुले यसअघिदेखि नै कर्णाली तथा तिला नदी किनारमा रहेका बस्ती उठाएर सहजमा ठाउँमा व्यवस्थापन गर्नुपर्ने अन्यथा ठूला घटना घट्ने चेतावनी दिँदै आएका छन् । 
    
प्रदेश प्रहरी कार्यालयको यस वर्षको तथ्याङ्कले जुम्ला कर्णाली प्रदेशमै हावाहुरी, हिमपहिरो, बाढी र पहिराको जोखिममुक्त जिल्लाका रुपमा देखिएका छ । आगलागीका घटना भने जुम्लामा पटकपटक हुँदै आएका छन् । डोल्पा जिल्ला पहिरोबाहेक अन्य जोखिममुक्त नै रहेको पाइएको छ ।
    
सहप्रवक्ता श्रेष्ठका अनुसार कर्णालीका सबै जिल्ला सदरमुकाम र स्थानीय तहमा आगलागी हुँदा घटनास्थलमा न सजिलै दमकल जाने बाटो छ न त प्राकृतिक विपत्तीमा आवश्यक तालीम प्राप्त जनशक्ति नै । कठिन भूगोल, आवश्यक उपकरण र जनशक्ति अभावले पनि बेलैमा उद्धार तथा राहतका कार्य हुन नसकेको उहाँको भनाइ छ । उहाँले जोखिम क्षेत्रको पहिचान गरी त्यहाँको समस्याको समाधान गर्न सम्बन्धित निकायले समयमै पहल गर्नुपर्ने कुरा सुभाउनुभयो । 
    
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले कर्णालीमा विपद्का विषयमा नागरिक सचेत नुहुनु र भिरालो जमीनका कारण पहिरो एवं बाढी जाँदा धनजनको ठूलो क्षतिको भएको बताउनुहुन्छ । क्षति बढ्नुका कारण यातायातको सहज पहुँच र विपत्का विषयमा नागरिकमा सचेतीकरण नभएको प्रहरी नायब महानिरीक्षक पन्तको भनाइ छ । “भौगोलिक विकटताले बाढी र पहिरो जाँदा, आगलागी हुँदा या चट्याङ पर्दा न बेलैमा घटनास्थलमा जान सकिन्छ न त जानकारी लिन नै पाइन्छ”, उहाँले भन्नुभयो, “मौसम र सूचनाको प्रभावकारिता हुन नसक्नुले पनि कर्णालीमा धनजनको बढी क्षति भएको हो । मानवीय सावधानीको कमीका कारण पनि विपत् जोखिमको सामना गर्नु परेको उहाँको भनाइ थियो । 
    
प्रहरी नायब महानिरीक्षक पन्त भन्नुहुन्छ, “कर्णाली प्रदेशका अधिकांश बस्ती भिरोलो जमीनमा अवस्थित छन् । त्यसमा धेरै बस्ती निकै जोखिमपूर्ण अवस्थामा पनि छन् । तिनलाई व्यवस्थापन गर्न र भावी दिनमा आइलाग्ने सम्भावित जोखिमबाट जोगाउन सङ्घ, प्रदेश तथा स्थानीय तहका सरकारहरुले ध्यान दिनुपर्दछ ।”
    
कर्णालीमा पहिलो पहिरो, दोस्रो आगलागी र तेस्रोमा बाढीको विपत्ती बढी भएको तथ्याङ्कले देखाएको छ । तीलगायत तीनै विपत्तीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारको विपत् व्यवस्थापन केन्द्र र सम्बन्धित जिल्लामा रहेका जिल्ला विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरणका दूरगामी प्रभाव पार्ने रणनीतिक योजना तयार गर्नुपर्ने कुरा जानकारहरुले सुझाएका छन् । शुरबहादुर सिंह /रासस