४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।

जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं।–१२ का अध्यक्ष दानबहादुर राईले बताउनुभयो ।

जालपाका स्थानीयले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो ।

जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ ।

जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।

निकट भविष्यमा १५ शय्यामा स्तरोन्नति गर्नेगरी स्थापना गरिएको नगर अस्पतालको उद्घाटन पूर्वसांसद टङ्क राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा सेवा प्रारम्भ गर्नुभएको हो ।

यसैबीच, नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदान भएको छ । सम्झौतापत्रमा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

नगर अस्पतालमा सेवा प्रारम्भ भएको अवसरमा नि:शुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । नगरपालिका र करुणा फाउण्डेशन नेपालले संयुक्तरुपमा आयोजना गरेको शिविरमा एक सय २४ जनाले सेवा लिएका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो । रासस