काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबिबिएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ। आयोगले शैक्षिक सत्र २०७७/०७८ मा एमबिबिएस कार्यक्रमको लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको हो।
शनिबार पाचौं बैठकमा सिफारिस समिति आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको शिक्षा मन्त्रालयले जनाएको छ।
समितिले बिडिएस, एमडिएमएस, एमडिएस साइन्स,एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको छ।
त्यस्तै एमडिएमएस क्लिनिकल र एमडिएस क्लिनिकलमा यथावत् राख्ने र बिडिएसमा करिब एक लाख रुपैयाँ बढाउन सिफारिस गरेको मन्त्रालयले जनाएको छ।
बैठकले शुल्क निर्धारण गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यदल बनाउने निर्णय भएको छ। कार्यदलमा सहअध्यक्ष एवम् स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा. उषा झा, आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेल हुनेछन्।
सो समितिले सिफारिस गरेको आधारमा शुल्क निर्धारण हुनेछ। तर, ८ लाख रुपैयाँ बढाउने विषयमा कसैको सहमति छैन।











