२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न कृषकलाई अनुदानमा गाई वितरण



अ+ अ-

चितवन । चितवनको रत्ननगर नगरपालिकाले यहाँका विपन्न कृषकलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालनमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय विपन्न कृषकलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो ।

नगरपालिकाले विपन्न किसानहरूको पहिचान गरी दुहुना गाई वितरण गरिएको नगरप्रमुख नारायण वनले बताउनुभयो । किसानलाई गाई वितरणका लागि नगरपालिकाको नवौँ नगरसभाले रु एक करोड बजेट विनियोजन गरेकामा सोही बजेटबाट गाई वितरण गरिएको वनको भनाइ थियो । नगरपालिकाको रु एक करोड तथा किसानको रु एक करोड गरी रु दुई करोडको लगानीमा नगरभित्रका २०० विपन्न कृषकलाई दुधालु गाई वितरण गरिने नगरप्रमुख उहाँले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिँदै आएको उल्लेख गर्दै नगरप्रमुख वनले अब किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताउनुभयो । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानको पहिचान गरी गाई वितरण कार्यक्रमलाई अगाडि बढाउने वनको भनाइ छ । कार्यक्रमको शुभारम्भ गर्दै बिहीबारमात्रै १६ किसानलाई अनुदानमा गाई वितरण गरिएको छ ।

नगरप्रमुख वन तथा उपप्रमुख विमला दुवाडीले नगरपालिकामा आयोजित कार्यक्रममा संयुक्तरूपमा कृषकलाई अनुदानका गाई प्रदान गर्नुभएको थियो । नगरपालिकाले अनुदानमा गाई वितरणसँगै गोठ सुधारका लागि रु १० हजारसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताउनुभयो । नगरपालिकाले प्रदान गरेको रु १० हजारमा किसानले रु १० हजार थप गरी रु २० हजारमा गोठ मर्मतको काम गर्नुपर्ने पौडेलले बताउनुभयो ।

विपन्न कृषकले गाई खरिद गर्दा कम्तीमा रु ८० हजार मूल्य बराबरको हुनुपर्ने भन्दै नगरपालिकाका पशु विकास अधिकृत शालिग्राम पौडेलले उक्त गाईले बिहान र बेलुका गरी दैनिक कम्तीमा पनि १० लिटर दूध दिने स्वस्थ गाई हुनुपर्ने बताउनुभयो । नगरपालिकाले किसानको आर्थिक अवस्था मूल्याङ्कन गरी पशुपालनबाटै जीविका चलाउँछु भन्ने विश्वास भएको कृषकलाई मात्र अनुदानमा गाई वितरण गर्ने पौडेलको भनाइ छ ।