• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो: उपप्रधानमन्त्री लामिछाने



इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उहाँले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याउनु भयो । बुधवार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताउनु भयो । उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाउनु भयो । काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उहाँको जिकिर थियो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘के मैले काँग्रेसले भनेर राजीनामा दिनुपर्ने । काँग्रेस, जो नेपाली जनतालाई नक्कली भूटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रिय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त ईतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरुलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन । हाम्रो पार्टीमा त्यस्तो चल्दैन । प्रहरीले अनुसन्धान गर्छ । अनुसन्धान गराए उनीहरुले । आफ्नो सरकार थियो । प्रहरीलाई अनुसन्धान गराए । उनीहरुलाई सहकारी पीडितको पीर थिएन । सहकारी पीडितहरुको पैसा फिर्ता गराउने उनीहरुको उद्देश्य थिएन । उनीहरुलाई रवि लामिछाने गलत देखाउनु थियो । रास्वपालाई घेर्नु थियो । त्यसकारण उनीहरुले केही पनि काम गरेनन् । हामीले प्रतिवेदन बनायाै। अहिलेसम्म भएका गलत क्रियाकलापहरु के के हुन ? कसका कारणले आज सहकारीहरु बदनाम भए, आज कसेका कारणले यतिका मान्छेको लगानी डुब्यो ? गरिव नेपालीको पैसा कहाँ डुब्यो ? त्यसको समाधानको उपाय के हो ? भनेर समाधानको उपाय खोज्न हामी गयौं । हामीले प्रधानमन्त्रीलाई समाधानका उपाय समेत हस्तान्तरण गर्‍यौं । हामी तयार थियौं, छांै ।’

उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल