१ मंसिर २०८१, शनिबार
,
Latest
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम सम्झौता पुनरावलोकन, लगानी वृद्धिदेखि विपिनको रिहाइ पहलसम्मका विषय पर्लान् त प्राथमिकतामा ?



अ+ अ-

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणलाई उत्सवका रुपमा लिँदै सरकारले आज सार्वजनिक बिदा दिएको छ । अमिरको भ्रमणलाई उपलब्धि बनाउने लक्ष्य सरकारले राखेका छ । विभिन्न सम्झौतामा हस्ताक्षरको तयारीसमेत गरिएको छ ।

विश्व शक्तिका राष्ट्रमा लगानी गरिरहेको मित्र राष्ट्र कतारका राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । शक्ति राष्ट्रको प्रमुखको भ्रमणलाई कूटनीतिक र आर्थिक महत्वका साथ हेरिएको छ ।

नेपाल र कतारबीच लामो कूटनीतिक सम्बन्ध रहे पनि समयानुकूल श्रम सम्झौता हुन सकेको छैन । पहिलो पटक सन् २००५ मार्च २१ मा दुई देशबीच श्रम सम्झौता भएको थियो । यसलाई समयानुकूल तथा श्रमिकमैत्री बनाउन पुनरवलोकन गर्ने विषय बेलाबेला उठ्दै आएको छ । तर सम्झौताको १९ वर्षसम्म पनि पुनरावलोकन हुन सकेको छैन ।

कतारमा साढे ३ लाखभन्दा बढी श्रमिक छन् । उनीहरु न्यूनतम् ज्यालामा काम गर्न बाध्य छन् । दुई देशबीच समयसापेक्ष श्रम सम्झौता नहुँदा श्रमिक समस्यामा त परेका छन् नै देशले पनि अपेक्षित लाभ लिन सकेको छैन । कतारका अमिरको नेपाल भ्रमणका बेला श्रम सम्झौता गराउन सके नेपालले लाभ लिन सक्ने छ ।

सरकारले कतारमा श्रमिकहरू फ्री भिसा, फ्री टिकटमा पठाउने घोषणा पनि गरिसकेको छ । तर यो घोषणामा मात्रै सीमित छ । कार्यान्वयन हुन सकेको छैन । यहाँबाट श्रमिकहरू चर्को शुल्क तिरेर जान बाध्य छन् ।

कतारस्थित अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले भर्ना प्रक्रियाको सबै शुल्क बेहोरेर श्रमिक लैजान चाहे पनि श्रमिक भने दुईदेखि तीन लाख रूपैयाँसम्म बुझाएर जानुपरेका घटना थुप्रै छन् । भर्ना प्रक्रिया पारदर्शी नहुँदा श्रमिकहरूमाथि आर्थिक भार परिरहेको छ ।

कतार श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्यमध्ये एक हो । हरेक वर्ष ठूलो संख्यामा नेपाली श्रमिकहरू कतार जाने गरेका छन् । कतार पुगेका नेपाली श्रमिकले वार्षिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याउने गरेका छन् । जबकी कतारमा नेपालले अदक्ष श्रमिक मात्र पठाउने गरेको छ । दक्ष श्रमिक पठाउन नयाँ श्रम सम्झौता नै छैन ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कतारका लागि गत आर्थिक वर्षमा एक लाख ३३ हजार युवाले श्रम स्वीकृति लिएका थिए । २०८० वैशाखदेखि चैतसम्म पनि कतारका लागि एक लाख ३३ हजार १०२ जनाले श्रम स्वीकृति लिएका छन् । ठूलो संख्यामा नेपालीहरू पुग्ने यो मुलुकमा श्रमिकको सुरक्षाको विषयमा भने प्रश्न उठ्दै आएको छ ।

श्रम सम्झौता पुनरावलोकन गरेर कतारलाई नेपाल श्रमिकको प्रमुख आकर्षक गन्तव्य त बताउन सकिन्छ नै त्यसबाहेक पनि कतारबाट नेपालले धेरै लाभ लिन सक्ने देखिएको छ ।

कतारको कुल गार्हस्थ्य उत्पादन २४४ दशमलव ६९ अर्ब अमेरिकी डलरको छ । जीडीपीका आधारमा प्रतिव्यक्ति आय ८१ हजार ४०० पुगेको छ । आन्तरिक जनसंख्या जम्मा ३ लाख हाराहारी छ ।

कतारको प्रभाव विश्वमञ्चहरुमा पनि छ । कतारले विश्वमा आफूलाई कूटनीतिक, आर्थिक सबै हिसाबले शक्तिशाली बनाउँदै लगेको छ । सन् २०२२ मा सफल रूपमा फिफा विश्वकपको आयोजना गरिसक्यो । यसक्रममा पूर्वाधार निर्माण र अन्य कामको लागि करिब २२० बिलियन अमेरिकी डलर कतारले खर्च गर्‍यो ।

पछिल्लो समय कतारले विश्व बजारमा लगानी बढाइरहेको छ । एसियाली देशमा मात्रै होइन, कतारको लगानी अमेरिका, बेलायत जस्ता ठूला देशमा अर्बौं डलर पुगिसकेको छ । कतारले विश्व बजारमा लगानी गर्नको लागि सन् २००५ मा कतार इन्भेस्टमेन्ट अथोरिटी बनाएको थियो । जस मार्फत गरिएको लगानी विश्वका ८० देशमा फैलिसकेको छ ।

लगानी सम्मेलनको सँघारमा हुन लागेको भ्रमणलाई उपयोग गर्न सके नेपाललाई आर्थिक रूपमा माथि उठ्न समय नलाग्न सक्छ । नेपालले अहिलेसम्म कतारलाई वैदेशिक रोजगारीको गन्तव्यका रूपमा मात्रै हेरेको छ ।

थानीको भ्रमणलाई उपयोग गर्न सके र नेपाल वैदेशिक लगानीको लागि उपयुक्त थलो हो, भन्ने विश्वास दिलाउन सके यो नेपालका लागि सुनौलो मौका बन्नसक्छ ।

वैदेशिक रोजगारीले गर्दा नेपाल–कतारको सम्बन्ध जनता–जनतासम्म फैलिएको छ । केही वर्षअघि साढे चार लाखभन्दा बढी नेपाली कतारमा रोजगारी गरिरहेका थिए । अहिले तीन लाख ६५ हजार हाराहारी नेपालीले कतारमा श्रम गरेर नेपालको आर्थिक उन्नतिमा टेको दिइरहेका छन् । कतारमा रहेका एक जना व्यक्तिको परिवारमा चार जनामात्रै सदस्य जोड्दा पनि करिब १४ लाख नेपालीको कतारसँग साइनो गाँसिएको छ ।

दक्ष जनशक्ति कतारले नेपालबाट लगिरहेको छैन । अर्धदक्ष जनशक्ति कतार पठाएर त्यहाँको अर्थतन्त्रमा योगदान दिइरहेको नेपालले अन्य फाइदा उठाउन सकेको छैन । दैनिक सयौं जनशक्ति कतार पठाउने नेपालले व्यापारिक फाइदा भने लिन सकेको छैन ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म जम्मा ९ करोड १९ लाख रुपैयाँको वस्तुमात्रै कतार निर्यात भएको छ । यो अवधिमा कतारबाट भने १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँको वस्तु आएको छ ।
कतारी राजाको भ्रमणमा नेपालले कृषिजन्य वस्तुको निर्यातको विषय उठाउन सक्छ । यसमा पूर्वाधारका आयोजनामा जस्तो यसमा ठूल्ठूला अध्ययन र सम्झौताको आवश्यकता पनि पर्दैन । गुणस्तरीय कृषिजन्य वस्तुबाट कतारलाई जोड्दा मध्यपूर्वका धेरै देश जोडिन सक्छन् । कतारमा आन्तरिक कम्पनी मात्रै छैनन् । संसारभरका ठूला यूरोपेली, अमेरिकी कम्पनी पनि छन् ।

भ्रमणका क्रममा विदेशमा रहेका नेपाली जनशक्तिको सीप विकासमा नेपालले कुरा राख्न सक्छ । आफ्नो श्रमशक्तिको सीप वृद्धिविकासमा यो भ्रमणलाई नेपालले उपयोग गर्न सक्ने प्रशस्त ठाउँ देखिन्छ ।

पूर्वाधार क्षेत्रमा पनि कतार उदाहरणीय छ । उसले युग सुहाउँदो आधुनिक प्रविधिसहितको बाटोघाटो निर्माण गरेको छ । विमानस्थल सोही अनुसारका छन् । गुणस्तरीय सडक र यातायात क्षेत्रमा क्रान्ति नै गरेको छ । पर्यटकीय क्षेत्रमा पनि नेपाल र कतारबीच सहकार्य हुनसक्छ ।

कतार विश्वका लागि पर्यटनको ठूलो गन्तव्य पनि हो । सन् २०२३ मा मात्रै कतारमा ४० लाख ५३ हजार पर्यटक भित्रिएको तथ्यांक छ । यो वर्षको ३ महिनामा कतारले १३ लाख पर्यटक भित्र्याएको छ ।

इन्धन विशेषगरी ग्यास निर्यात गरेर कतारले ३/४ दशकको अवधिमा जुन प्रगति गरेको छ, त्यो विश्वकै लागि उदाहरणीय छ । यसलाई पाठको रूपमा लिएर नेपालले बिजुली उत्पादनमा लगानी बढाउन सक्छ । नेपालको जलविद्युत्को क्षेत्रमा पनि कतारले लगानी गर्न सक्छ । यस्ता विषयमा नेपाल सरकारले गम्भीर कतारसँग कुरा गर्न सक्नुपर्छ ।

अर्को एउटा महत्वपूर्ण विषय नेपाली विद्यार्थी विपिन जोशी अहिले पनि गाजाका हमास लडाकुको नियन्त्रणमा छन् । ९ महिनादेखि हमासको बन्धकमा रहेका विपिनको रिहाइको पहल सफल भएको छैन । कतार र हमासबीचको सम्बन्ध निकै सुमधुर छ । कतारले भनेको हमासले मान्ने भएकाले अमिरको भ्रमणका क्रममा यो विषय उठाएर एक नेपाली युवाको जीवनरक्षा गर्ने दायित्व सरकारले भुल्नु हुँदैन ।