२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री



अ+ अ-

महेन्द्रनगर : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताउनुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताउनुभएको हो ।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभयो ।

“युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ ।”

विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै उहाँले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खासगरी यस विश्वविद्यालयले यस क्षेत्रका निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी पुर्‍याएको योगदान प्रशंसनीय छ ।”

प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरू गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने उल्लेख गर्नुभयो ।

‘राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग रहन्छ’

प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताउनुभयो ।

“यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माण लगायतका कामहरू द्रूत गतिमा अगाडि बढिरहेका छन् ।” उहाँले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गो साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

‘विश्वविद्यालयको प्राज्ञिक स्तर सुधार्नु छ’

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्न राख्नुपर्ने बताउनुभयो । उहाँले सबैका लागि अध्ययन तथा अनुसन्धानको आकर्षणको केन्द्र विश्वविद्यालय बन्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वविद्यालयको प्राज्ञिक स्तर उकास्न सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एकापसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ,” प्रधामन्त्री प्रचण्डले भन्नुभयो, “विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ ।”

विश्वविद्यालयको नेतृत्वले भौतिक एवं शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै एउटा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औंल्याउनुभयो ।