• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी ★   जोडीहरू किन सबैभन्दा बढी घाँटीमा चुम्बन गर्न मन पराउँछन् ? ★   जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ ★   यी हुन् विश्वका सात कम जनसंख्या भएका सहर, यहाँ त ३० जना मात्रै बस्छन्

होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती



मध्यविन्दु । दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डढगाउँको परिचय फेरिएको छ । दराई समुदायको बसोबास रहेको बौदीकाली गाउँपालिका-२ डेढगाउँमा २०७५ सालदेखि होमस्टे सञ्चालन गरिएपछि गाउँको परिचय बदलिएको हो ।

जीविकोपार्जनका लागि खेतीपातीमा मात्र निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरेर आम्दानी लिन थालेका छन् । पाँच घरबाट होमस्टेको सेवा सुरु गरिएको गाउँमा अहिले १० घरले होमस्टे चलाउन पाहुना घर बनाएका छन् । होमस्टेमा अहिले २० जना पाहुनालाई एकैसाथ राख्न सक्ने क्षमता रहेको छ । यस गाउँमा ३५ घरधुरी दराई जातिको बसोबास छ ।

कालीगण्डकी नदी किनारमा रहेको दराई बस्तीमा सञ्चालित होमस्टेले दराई जातिको कला संस्कृति प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामुदायिक होमस्टेका अध्यक्ष कमल दराईले बताउनुभयो ।

“होमस्टे सञ्चालनमा आएपछि अहिले गाउँ पनि सफा र सुन्दर भएको छ, पाहुनालाई स्थानीय परिकार खुवाएर होमस्टेमा राख्छौँ”, उहाँले भन्नुभयो, “नयाँ नयाँ ठाउँका मानिसको आउजाउ हुन थालेपछि गाउँमा धेरै चिज परिवर्तन भएको छ ।”

होमस्टेमा दराई जातिको खानाका परिकारका साथै स्थानीय उत्पादनबाट पाहुनाको रुचि अनुसारका खानेकुरा तयार गरिन्छ । होमस्टेले दराई समुदायका महिलालाई आत्मनिर्भर हुन सिकाएको अध्यक्ष कमल दराईले बताउनुभयो ।

जिल्लाकै अमलटारी होमस्टे राष्ट्रिय रुपमा स्थापित भएपछि पहाडी भेगमा सञ्चालन भएको यो दराई होमस्टेले छुट्टै पहिचान बनाएको छ । पछिल्ला वर्षमा दराई सामुदायिक होमस्टेमा पहुनाको आकर्षण बढ्दै गएको व्यवस्थापक सिद्र्धिपूर्णी दराईले जानकारी दिनुभयो ।

होमस्टेमा आउने पाहुनालाई दराई संस्कार अनुसार फूलको गुच्छा, कलशमा पानी, दियो बालेर स्वागत गर्ने गरिन्छ । साँझमा दराई जातिको कौरा, झ्याउरे लगायतका नृत्य प्रस्तुत गरेर पहुनालाई मनोरञ्जन दिने गरिएको छ ।

दराई बस्ती आसपासमा रहेका ऐतिहासिक धार्मिकस्थल, प्रसिद्ध अकला मन्दिर, बालीघाट, हरियाली डाँडा, कालीगण्डकी नदी लगायतका रमणीयस्थलको अवलोकन गर्न सकिन्छ । होमस्टेमा अहिले दैनिक १० जना पाहुना बास बस्ने गरी आउने गरेको होमस्टे सञ्चालक समितिले जनाएको छ ।

दराई समुदायको मुख्य बसोबास नवलपरासी (बर्दघाट सुस्तपूर्व)सँगै तनहुँ, चितवन र गोरखा जिल्लामा छ । विसं २०७८ को जनगणना अनुसार नेपालमा दराई समुदायको जनसंख्या १८ हजार छ सय ९५ मात्र रहेको छ । रासस