• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे



गलेश्वर (म्याग्दी : अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।

म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख ३५ हजार चार सय ६६ छ । तीमध्ये दुई लाख २० हजार सात सय २४ जना पुरुष छन् भने महिलाको सङ्ख्या एक लाख १४ हजार सात सय ४२ छ ।

विसं २०८० मा ७८ हजार आठ सय १४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन् । यीमध्ये ७२ हजार सात सय ५६ जना सार्क राष्ट्रभित्रका हुन् भने छ हजार ५८ जना सार्कराष्ट्र बाहिरका रहेका प्रनाउ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सार्क राष्ट्रबाट ३८ हजार आठ सय २१ पुरुष र ३३ हजार नौ सय ३५ महिला छन् ।

सार्क राष्ट्र बाहिरबाट तीन हजार छ सय ४८ पुरुष र दुई हजार चार सय १० महिला मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्कबाट देखिएको छ । सोही अवधिमा हवाइमार्गबाट ११ हजार चार सय ८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्येका एक हजार एक सय ३४ पुरुष र पाँच सय ४५ महिला गरी एक हजार छ सय ७९ आन्तरिक पर्यटक रहेका प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

सार्क राष्ट्रबाट तीन हजार सात सय ६७ पुरुष र चार हजार दुई सय ८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन् । सार्क राष्ट्र बाहिरबाट आठ सय ८६ पुरुष र आठसय ६४ जना महिला गरी एक हजार सात सय ५० पर्यटक मुस्ताङ भित्रिएका तथ्याङ्कले देखाएको छ ।

सडकको सहज पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ आकर्षक गन्तव्यस्थल बनेको छ ।

सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मले मुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो ।

मुस्ताङ आफँैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थल रहेका छन् । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटक धेरै पुग्ने गरेका छन् ।

मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो ।

यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैँचा रहेका छन् ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, १२ वटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानीसमेत पर्दछ ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत बस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ ‘माटोको सहर’को नामले पनि चिनिन्छ ।

उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतकाबीचमा हुने व्यापारको राजस्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालयसमेत छ । छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्र उपल्लो मुस्ताङमा रहेका छन् ।

सन् २०२२ मा विदेशी पर्यटक ६५ हजार नौ सय ४० जनाले मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले जानकारी दिनुभयो । सन् २०२३ मा ७८ हजार आठ सय १४ जना बाह्य पर्ययहाँ भित्रिएका छन् ।

मुस्ताङमा खासगरी धार्मिक पर्यटक कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै एक सय आठ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् ।

साथै मार्फाको स्याउ बगैँचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाको अवलोकन तथा भ्रमणमा बर्सेनि पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशीभन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।

विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकबाट अधिकांश पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाबाट पनि यहाँ घुम्न जाने पर्यटकको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायी बताउँछन् ।

मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारीसाधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाईमार्गबाट पनि पुग्ने गर्दछन् ।रासस