१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारकी नेत्री सुकी मध्यरातमा हिरासतमा ! सैनिक ‘कू’ को आशंका



अ+ अ-

काठमाडौ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सैनिक हिरासतमा लिइएको छ । नेत्री सुकीलाई गएराति सेनाका अधिकारीहरुले अकस्मात नियन्त्रणमा लिएका थिए । उहाँ र उहाँको पार्टीका अरु केही वरिष्ठ नेताहरुलाई पनि म्यानमारको सेनाले मध्यरातमा पक्राउ गरेको हो । 

सुकीको पार्टीका प्रबक्ता मायो न्युन्टलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार सुकीसहितका नेताहरुलाई त्यहांको सेनाले पक्राउ गरेको हो । उहाँसंगै त्यहांको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेशीका अन्य नेताहरु पनि पक्राउ परेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ । पक्राउ गरिएका नेताहरुलाई सेनाले कहां र कसरी राखेको छ भन्ने कुरा कतै उल्लेख गरिएको छैन ।

 आज सोमबार बोलाइएको म्यानमारको संसद बैठक पनि रोक्न सेनाले भनेको छ । संसद बैठक चलिरहेका बेला नेत्री सुकीलाई यता सैनिकले हिरासतमा लिएको छ । 

म्यानमारमा केही महिना यतादेखि सेना र सरकारबीच खचपच शुरु भएको थियो । यसैबीचमा उहाँलाई सैनिक हिरासतमा लिइएपछि त्यहाँ सत्ता परिवर्तन हुन सक्ने आशंका गरिएको छ । 

उहाँ पहिले पनि तीन दशक लामो समयदेखि सैनिक हिरासतमा बस्नुभएको थियो । करिब पाँच वर्ष अघि म्यानमारमा सम्पन्न संसदीय निर्वाचनमा उहाँको दलले दुई तिहाइ बहुमत ल्याएपछि उहाँ सत्तामा हुनुहुन्छ । उहाँ म्यानमारको राष्ट्रिय सल्लाहकार र विदेश मन्त्री हुनुहुन्छ ।   

म्यानमारका राष्टपतिमाथि पनि यहाँको सेनाले निगरानी बढाएको बताइएको छ । यहाँका महत्वपूर्ण नेताहरुको निवासमा सैनिक निगरानी बढेको तथा राजधानी यांगुनमा ठूलो संख्यामा सैनिक उपस्थिति देखिएको बताइएको छ । यहाँका अधिकारीहरुले म्यानमारमा सैनिकले सत्ता पलटको तयारी गरेको बताएका छन् । तर यस विषयमा विस्तृत जानकारी भने आइसकेको छैन ।