९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस परिवर्तनलाई संस्थागत गर्ने पक्षमा कहिल्यै उभिएनः शंकर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस परिवर्तन विरोधी शक्ति भएको बताउनुभएको छ ।

नेकपा एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार सिन्धुलीमाढीमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेस परिवर्तनको आन्दोलनमा सधैँ सँगै हुने भए पनि त्यसलाई संस्थागत गर्ने कुरामा भने विरुद्धमा उभिने गरेको बताउनुभयो । ‘जब परिवर्तनलाई संस्थागत गर्ने समय आउँछ कांग्रेसले सदैव आफूलाई परिवर्तनका विरुद्धमा उभ्याउने गरेको छ’, पोखरेलले भन्नुभयो ।

कांग्रेसले यो इतिहासलाई २००७, २०४६ र २०६३ मा पनि दोहोर्‍याएको उहाँले दाबी गर्नुभयो । कांग्रेसले हरेको आन्दोलनलाई सम्झौतामा गएर टुङ्ग्याउने र परिवर्तनलाई संस्थागत हुन नदिने गरेको उहाँले टिप्पणी गर्नुभयो ।

माओवादी आन्दोलनले नेपाली समाजमा परिवर्तनको हलचल ल्याएको भए पनि आजको परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट भएको हो भन्ने कुरा बिर्सन नहुने पोखरेलले बताउनुभयो । तर यो परिवर्तनको बाहक नै माओवादी हो भन्ने भाष्य निर्माण गर्ने काम भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

२०६३ को परिवर्तन पछि नेपाली कांग्रेसले आफ्नो भविष्य सुरक्षित गर्न गिरिजाप्रसाद कोइरालाले माओवादीलाई च्यापेको उहाँले बताउनुभयो । वामपन्थीमा विभाजन ल्याएर राज गर्ने नीति अनुरूप गिरिजाप्रसाद कोइरालाले त्यो कदम चालेको पोखरेलको भनाइ छ । आजका कम्युनिष्टहरुको दुर्गतिको बिउ चुनाव नै नलडेको माओवादीलाई एमाले सरह सिट दिएर गिरिजाप्रसादले रोपिदिएको उहाँले बताउनुभयो ।

अहिले जनतामा निराशा बढेको बताउँदै पोखरेलले जनतामा आशा जगाउन विगतमा भएका कमजोरी सच्याएर अघि बढ्नु पर्ने बताउनुभयो । अन्यथा नागरिकमा बढेको निराशा चिर्न नसकिने पोखरेलले स्पष्ट पार्नुभयो ।

देशलाई बलियो बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै पोखरेलले त्यसको लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्ने बताउनुभयो । त्यो सच्चाइलाई बुझेर पार्टीका नेता कार्यकर्ता पार्टी निर्माणको काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । आफूले लिएको जिम्मेवारी पुरा गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीको अधिवेशनको बेलमा तँछाडमछाड गर्ने नर बैठक बस्ने बेलामा कोरम नै नपुग्ने परिपाटीले पार्टी नचल्ने उहाँले स्पष्ट पार्नुभयो । जनताको बिचमा नेताहरूलाई स्थापित गर्नुको सट्टा नेतालाई खुइल्याएर पार्टी नबन्ने उहाँले बताउनुभयो । ‘नेतृत्वलाई जनताको बिचमा स्थापित गर्ने कुरा पार्टी निर्माणको महत्त्वपूर्ण विषय हो’, उहाँले भन्नुभयो ।

राजनीतिक परिवर्तन भन्दा पनि समाज परिवर्तनको कुरा ठुलो भएको उहाँले बताउनुभयो । त्यसैले एमालेका नेता कार्यकर्ता समाज परिवर्तनको काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । विचार नै शक्ति हो भन्ने कुरा बुझेर विचारबाट समाज परिवर्तनको काममा जुट्न पोखरेलले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गणेश पहाडी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।