७ आश्विन २०८१, सोमबार
,
Latest
सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ



default
अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताउनुभयो ।

“विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो”, उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।” वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन् । आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन् । आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा गएर बसेका हुन् । घर भए पनि बसोबास छैन । बर्खामा गोठमा गएर बस्ने गरेका छन् ।

गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए । यस वर्ष थप छवटा घर पुन:निर्माण भइरहेको छ । गाउँपालिकाले पहिराबाट घर भत्किएकालाई पुन:निर्माणका लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

“पहिराले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ”, उहाँले भन्नुभयो, “रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो ।” यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ । हाल दलित समुदायको एउटा मात्र घर छ ।

भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो । गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ । खेतबारी र जङ्गल चिराचिरा परेको छ । पहिराले उठिबास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकले बताउनुभयो । उहाँको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोबास गर्नुहुन्छ ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताउनुभयो । बर्सेनि ग्यावियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन । पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । रासस