• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगमा आज दुई खेल: आर्सनल र बायर्न तथा म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै



काठमाडौँ । लामो समयको प्रतिक्षापछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेल आज रातिबाट सुरु हुँदैछ । क्वाटरफाइनलको पहिलो लेग आज मध्यरातबाट सुरु हुने भएको हो ।

आज राति दुई खेलहरु हुँदैछन् । एकै समयमा (राति १२ः४५ बजे) इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिख तथा अर्को इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा बायर्न म्युनिखले प्रतिस्पर्धा गर्नेछ भने रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा सिटीले रियलको सामना गर्नेछ । चारवटै टिम पहिलो लेगमा जित निकालेर दोस्रो लेगका लागि आफूलाई सहज बनाउन चाहन्छन् ।

रियलले समूह सी मा ६ खेलमा सबैमा जितसहित शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा स्थान बनाएको थियो भने समूह जी मा रहेको सिटीले पनि सबै ६ वटै खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यसैगरी, आर्सनल समूह बी को समूह विजेता बन्दै क्वाटरफाइनलमा आईपुगेको हो भने बायर्न पनि समूह ए को समूह विजेता बन्दै अन्तिम आठमा स्थान बनाएको हो । यी टोलीबीचको दोस्रो लेग १६ अप्रिलको मध्यरातमा हुनेछ ।

दुबै खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।