• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

कोलकातामाथि चेन्नईको सहज जित



काठमाडौँ । आईपीएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ७ विकेटले पराजित गरेको छ ।

रविन्द्र जडेजा र तुषार देशपाण्डेको उत्कृष्ट बलिङ तथा कप्तान रुतुराज गायकवाडको ५८ बलमा ९ चौकाको मद्दतले खेलेको अविजित ६७ रनको इनिङ्सको आधारमा सोमबार केकेआरलाई हराएको हो ।

लगातार दुई खेल हारेपछि चेन्नई आफ्नो घरेलु मैदानमा जितको ट्र्याकमा फर्कियो, जबकि केकेआरले यो सिजनको पहिलो हार बेहोर्यो । पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जवाफमा चेन्नईले १७.४ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनाएर खेल जित्यो ।

पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई उसको घरेलु मैदान चेपौक स्टेडियममा हराउन कुनै पनि टोलीका लागि सजिलो छैन । केकेआरको कुरा आउँदा दुई पटकको विजेता केकेआरले चेन्नईलाई उसको घरेलु मैदानमा हराउन निकै गाह्रो छ ।

तथ्यांक हेर्दा केकेआरले आईपीएलमा चेपौक रंगशालामा जम्मा १४ खेल खेलेको छ भने १० खेलमा हार बेहोरेको छ भने चार खेलमा मात्रै सफलता हात पारेको छ । जबकि चेन्नईले यस स्टेडियममा केकेआरविरुद्ध कुल ११ आईपीएल खेल खेलेको छ र नौ खेल जितेको छ । यो खेलमा पनि एकतर्फी रुपमा जित्दै चेन्नईले आफ्नो घरेलु मैदानमा केकेआर विरुद्धको दबदबा कायम राखेको छ ।

यो जितपछि चेन्नईको टोली पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । तर, यो पराजयका बाबजुद कोलकाताको टोली ६ अंकसहित दोस्रो स्थानमा छ । पहिलो नम्बरमा राजस्थान रोयल्स रहेको छ, जसले चार खेलमा सबै चार खेल जितेको छ र आठ अंकसहित शीर्ष स्थानमा छ । अहिले राजस्थान प्रतियोगिताको एक मात्र टोली हो जसले अहिलेसम्म एक खेल पनि हारेको छैन ।

यस खेलमा केकेआरका ब्याट्सम्यान रन बनाउन संघर्ष गरिरहेका देखिए पनि रुतुराजले कप्तानी पारी खेल्दै चेन्नईलाई जित दिलाए । चेन्नईले पहिलो दुई खेल जितेको थियो भने पछिल्ला दुई खेलमा हार बेहोरेको थियो । जसका कारण रुतुराजको कप्तानीमा प्रश्न उठ्न थाले पनि उनले यो खेलमा राम्रो प्रदर्शन गर्दै आलोचकहरुलाई जवाफ दिए ।

लक्ष्य पछ्याउने क्रममा सीएसकेले रचिन रविन्द्रको रूपमा पहिलो विकेट गुमायो । रचिन १५ रन बनाएर वैभव अरोराको शिकार बने । त्यसपछि रुतुराजले डेरिल मिचेलसँग मिलेर इनिङ्सलाई अगाडि बढाए र दुवै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । रुतुराज र डेरिलले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गर्दै जितको जग बसाएका थिए । तर, डेरिल २५ रन बनाएर आउट भए । उनलाई सुनिल नारायणले बोल्ड गरेका थिए ।

त्यसपछि शिवम दुबेले छिटो स्कोर बनाए तर वैभवले उनलाई आउट गर्दै खेलको दोस्रो विकेट लिए । शिवमले १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २८ रनको इनिङ खेले । यसपछि पूर्व कप्तान महेन्द्र सिंह धोनी मैदानमा आए र चेपौक रंगशालामा दर्शकले न्यानो स्वागत गरे । धोनी एक रन बनाएर अविजित फर्किए र सीएसकेका लागि गायकवाडले विजयी चौका प्रहार गरे ।

यसअघि चेन्नईले टस जितेर केकेआरलाई पहिले ब्याटिङको निम्तो दियो । फास्ट बलर तुषार देशपाण्डेले कप्तान रुतुराज गायकवाडको निर्णय सही साबित गरे । उनले केकेआरका ओपनर फिल साल्टलाई पहिलो बलमै आउट गर्दै टोलीलाई प्रारम्भिक सफलता दिलाएका थिए । साल्ट खेलको पहिलो बलमा आउट हुने केकेआरका पाँचौं ब्याट्सम्यान बने ।

उनीभन्दा अगाडि केकेआरका लागि ब्रेन्डन म्याकुलम, मनोज तिवारी, ज्याक कालिस र जो डेन्ली पहिलो बलमै आउट भएका ब्याट्सम्यान थिए । यससँगै तुषार चेन्नईका लागि पहिलो बलमा सफलता हासिल गर्ने तेस्रो बलर बने । यसअघि लक्ष्मीपति बालाजी र दिपक चाहरले यो उपलब्धि हासिल गरिसकेका छन् ।

पहिलो झट्कापछि केकेआरको इनिङ्सलाई सुनिल नारायण र अङ्क्रिश रघुवंशीले सम्हालेका थिए । तेस्रो ओभर बलिङ गर्न आएका तुषार देशपाण्डेलाई नारायणले सजिलो रुपमा लिँदै उनको ओभरबाट १९ रन लिए । नारायणले लगातार दुई बलमा दुई चौका प्रहार गर्दै तुषारलाई स्वागत गरे । यसपछि उनले चौथो बलमा चौका र पाँचौं बलमा छक्का प्रहार गरे । त्यस्तै अर्को ओभर बलिङ गर्न आएका शार्दुल ठाकुरलाई रघुवंशीले चौका हानेर स्वागत गरे ।

त्यसपछि सुनीलले शार्दुललाई पनि बलियो चौका प्रहार गरे । दुवै ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै पाँच ओभरको अन्त्यसम्ममा ५० रन जोडे । पावरप्लेको अन्त्यमा, केकेआरले एक विकेटमा ५६ रन बनाएको थियो, जुन यस सिजन चेपौक स्टेडियममा चेन्नईको लागि सबैभन्दा महँगो पावरप्ले थियो ।

त्यतिबेला नारायण र रघुवंशीले केकेआरलाई फेरि ठूलो स्कोरतर्फ लैजाने देखिन्थ्यो, तर ऋतुराजले बल जडेजालाई दिए र पहिलो बलमा रघुवंशीलाई आउट गरेर केकेआरलाई दोस्रो झट्का दिए। रघुवंशी १८ बलमा २४ रन बनाएर प्याभिलियन फर्किए ।

यो खेलमा जडेजा र तुषारले उत्कृष्ट बलिङ गरेका थिए । एकातिर तुषारले पहिलो ओभरमा नै टोलीलाई सफलता दिलाए भने जडेजाले नारायण र रघुवंशीको जोडी तोडेका थिए । त्यसपछि सोही ओभरमा जडेजाले टोलीका लागि खतरनाक साबित भएका सुनिल नारायणलाई पनि प्याभिलियनको बाटो देखाएका थिए ।

नारायण २० बलमा तीन चौका र दुई छक्काको मद्दतले २७ रन बनाएर आउट भए । त्यसपछि अर्को ओभरमा भेंकटेश अय्यरलाई आउट गर्दै जडेजाले खेलको तेस्रो विकेट लिए । वेंकटेश फेरि एकपटक फ्लप साबित भए र उनले आठ बलमा तीन रन बनाए ।

जडेजा जस्तै तुषारले पनि उत्कृष्ट बलिङ गर्दै रिंकु सिंह र आन्द्रे रसेललाई प्याभिलियन पठाए । रिंकु १४ बलमा ९ रन बनाएर प्याभिलियन फर्किए भने रसेल १० बलमा १० रन बनाएर प्याभिलियन फर्किए । तुषार देशपाण्डे र रविन्द्र जडेजाले तीन–तीन विकेट लिए ।

केकेआरका कप्तान श्रेयस अय्यरले यो खेलमा निकै सुस्त ब्याटिङ गरे र रन बनाउन संघर्ष गरिरहेको देखियो । श्रेयसले ३२ बलमा तीन चौकाको मद्दतले ३४ रनको इनिङ खेले । केकेआरको इनिङ्समा श्रेयस सर्वाधिक रन बनाउने खेलाडी थिए तर यस अवधिमा उनको स्ट्राइक रेट १०६.२५ थियो जुन टी–२० मा राम्रो मानिएको छैन ।

आईपीएलपछि तुरुन्तै टी–२० विश्वकप आयोजना हुँदै गरेको अवस्थामा श्रेयसले अहिलेसम्म आफ्नो ब्याटिङबाट खासै प्रभाव पार्न सकेका छैनन् । यो खेलमा श्रेयसले चम्कने मौका पाए पनि उनले यहाँ पनि मौकाको सदुपयोग गर्न सकेनन् ।

खेलमा जडेजाले बलिङका साथै फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । योसँगै उनले आईपीएलमा १०० क्याच पूरा गर्ने कीर्तिमान हासिल गरेका छन् । जडेजा आइपिएलमा १०० क्याच पूरा गर्ने पाँचौं खेलाडी हुन् । उनीभन्दा अगाडि विराट कोहली, सुरेश रैना, किरोन पोलार्ड र रोहित शर्माले यस्तो गरेका छन् । आईपीएलमा सबैभन्दा धेरै क्याच लिने कीर्तिमान कोहलीको नाममा छ जसले अहिलेसम्म ११० क्याच लिएका छन् ।

आजको खेलः पञ्जाव किंग्स भर्सेस सनराइजर्स हैदराबार – साँझ ७ः४५ बजे