१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मूलका किशाेर साैरियन सापकाेटा देखिने भए नेटफ्लिक्स सिरिजमा



अ+ अ-

काठमाडौं । इन्टरनेटको माध्यमबाट फिल्म र सिरियलहरु प्रसार गरिरहेको लोकप्रिय माध्यम  ‘नेटफ्लिक्स’ ले १० शृंखलाको ‘द मिडनाइट क्लब’ छायाँकन गर्न लागेको छ । नेटफ्लिक्सको ब्यानरमा वर्षैभरि विभिन्न फिल्म र शृंखलाहरु बनिरहेका पाइन्छन् ।

यसपटक भने नेटफ्लिक्सले बनाउन लागेको ‘द मिडनाइट क्लब’ शृंखला नेपाल र नेपालीका लागि नयाँ सन्देश दिन लागेको छ किनभने यस शृंखलामा नेपाली मूलका किशोर सौरियन सापकोटा एक प्रमुख कलाकारका रुपमा छानिएका छन्। १९ वर्षीय सौरियन हाल न्युयोर्क स्टेट युनिर्भसिटीमा अभिनय मुख्य विषय लिएर दोस्रो वर्षमा अध्ययनरत छन् ।

क्रिस्टोफर पाइकको निकै लोकप्रिय उपन्यास ‘द मिडनाइट क्लब’ मा आधारित यो शृंखलाको छायांकन आगामी वसन्त याममा शुरु हुनेछ। यो सिरिज माइक फ्लानागन र लेह फंगले निर्देशन गर्न लागेको भेराइटी म्यागाजिनले जनाएको छ ।

यो शृंखला नेटफ्लीक्सको डरत्रासले भरिपूर्ण (हरर फिल्म) शृंखलाको एक कडी हो । सन् १९९४ मा प्रकाशित पाइकको उपन्यासमा दीर्घरोगी केही किशोरवयका केटाकेटीका सुपरनेचरल कथा समेटिएको छ । शृंखलामा सापकोटा सहित अडिया, इग्बी रिग्ने, रुथ कड, अया फुरुकावा, अन्नारहा शेफर्ड, विलियम क्रिस सम्टर लगायतका कलाकारहरु मुख्य भूमिकामा रहने छन् भने ज्याच गिलफोर्ड, म्याट बिडेल र समान्था स्लोयानले सहायक भूमिका निर्वाह गर्नेछन् ।

रोटरड्याम होमका चिकित्सकको भूमिकामा हिथर लागेनक्याम्प रहने छन् ।माध्यमिक तहमा थिएटर विषय अध्ययन गरेका सापकोटाले प्रतिष्ठित न्युयोर्क स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने मौका पाए । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा सक्रिय सहभागिता जनाउने गरेका उनले धेरै पटक पुरस्कार पनि जितेका छन्। उनले जर्जियाको गुइनेट काउन्टीमा हुने चलचित्र महोत्सवमा लगातार ४ वर्ष पुरस्कार जितेका छन्।

द मिडनाइट क्लव सिरिजमा एकजना मुख्य कलाकारका रुपमा सौरियन छनौट भएकोमा परिवारजन निकै खुशी देखिएका छन् । शृंखलाको सुटिङ आगामी मार्च महिनादेखि क्यानाडामा हुने भेराइटीले जनाएको छ। आफ्नो पहिलो प्रोजेक्ट भएकाले यसलाई स्मरणयोग्य बनाउन प्रयास गर्ने सौरियनको भनाई छ ।