२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुरा समुदायलाई मातृभाषा सिकाइँदै



अ+ अ-

दमौली (तनहुँ) । व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ ।

दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम आयोजना गरिएको दुरा सेवा समाजका सदस्य दिलु दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक जातिले आफ्नो भाषा, संस्कृति जोगाउनुपर्छ । हामीलाई मातृभाषा बोल्न आउँदैन । तालिम सञ्चालन गरी भाषा सिकाएर यसको संरक्षण गर्न खोजेका हौँ ।”

दुरा सेवा समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार देव दुराका अनुसार चैत १७ देखि सुरु तालिम चैत २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा भाषा आयोगका नमूनाअनुसारको पाठ्यसामग्री समावेश गरिएको छ ।

दुरा जातिले आफ्नो भाषा बिर्सिँदै गएकाले मातृभाषा तालिम सञ्चालन गरेर उदाहरणीय प्रयास भएको व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले बताउनुभयो । सोही वडाका सदस्य गोकुल दुराले भाषा सिक्नु भनेको पहिचान जोगाउनु हो भन्नुभयो ।

दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुराले यसअघि व्यास नगरपालिका–१ र ४ मा बसोबास गर्ने दुरा समुदायलाई मातृभाषा सिकाइएको जानकारी दिनुभयो । तालिममा मुक्तिनाथ घिमिरे र कमला दुराले भाषा सिकाइरहनुभएको छ ।

दुराडाँडास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदा सोही सेरोफेरोमा घुमेर दुरा भाषाको शब्द सङ्कलन गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो, “दुराडाँडामा दुरा जातिको बाक्लो बस्ती छ । त्यहाँमा बुढापाकासँग मैले शब्दहरू सङ्कलन गरेँ । अहिले पछिल्लो पुस्ताले दुरा भाषा बिर्सिँदै जान थाले ।”

तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरेका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । नेपालमा दुराहरूको सङ्ख्या करिब पाँच हजार चार सय रहेको बताइएको छ । रासस