२५ जेष्ठ २०८३, सोमबार
,
Latest
५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागरथीका परिवारजन भन्छन्–‘निर्मलाको जस्तो हविगत नहोस्’



अ+ अ-

बैतडी । दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ । राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् । ‘हत्यारालाई छिटो पत्ता लगाएर कडा कारबाही गर्नुपर्छ,’ भागरथीकी आमा दुरा भट्टले भनिन् ।बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् ।

भागरथीका काका शंकर भट्टले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झँदा भतिजीको हत्याका विषयमा पनि त्यस्तै हुन्छ कि भन्ने शंका रहेको बताए । ‘प्रहरी–प्रशासनको अनुसन्धानको तरिका अहिलेसम्म ठीकै छ तर अपराधी पक्राउ नपरेसम्म कसरी ढुक्क हुने ?’ उनले भने, ‘पहुँच भएका व्यक्ति घटनामा संलग्न छन् भने कारबाहीबाट उम्किएलान् कि भन्ने शंका लागेको छ ।’ त्यही कारण भागरथीलाई न्याय दिलाउन गाउँलेलाई राखेर संघर्ष समिति गठन गरिएको शंकरले बताए ।

भागरथीको शव बिहीबार दिउँसो गाउँकै विद्यार्थीले घर फर्किरहेका बेला सडकमुनि झाडीमा देखेका थिए । घटनास्थलमा साँझ ५ बजे स्थानीय र प्रहरी पुगेका थिए । शुक्रबार दिउँसो २ बजेतिर मात्र उनको शव घटनास्थलबाट उठाइएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी प्रहरी टोलीसहित शुक्रबार घटनास्थल पुगेका थिए । शव उठाउने दिन जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशी, सरकारी वकिल भानदेव जोशीलगायतको टोली शवको प्रकृति बुझ्न खटिएको थियो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत जिल्लाका सुरक्षा निकाय प्रमुख र दोगडाकेदार घर भएका प्रदेश सांसद लीलाधर भट्ट पनि शुक्रबार दिनभर घटनास्थलमा थिए ।

भागरथीकी सहपाठी ज्योति भट्टले साथीको हत्यापछि स्कुल जानै डर लागेको बताइन् । ‘सँगै हिँड्ने, पढ्ने साथीको यस्तरी ज्यान गयो, अब हामी कसरी एक्लै हिँड्ने ?,’ उनले भनिन् । दुई महिनाअघि मात्र पति गुमाएकी दुरा छोरीको शव फेला परेको सुनेपछि पूर्ण होसमा छैनन् । रोएरै रातदिन बिताइरहेकी छन् । ‘अब त म बाँच्न सक्दिनँ कि जस्तो लाग्न थालेको छ,’ उनले भनिन्, ‘छोरीलाई यसरी दुःख दिएर हत्या गर्नेलाई छिटो पक्राउ गरेर सकेसम्मको कारबाही भएको हेर्ने मन छ ।’ शंकरले भतिजी भागरथीको बलात्कारपछि नै हत्या भएकामा शंका नरहेको बताए । ‘मैले फोटाहरू हेरेको थिएँ । शरीरभरि मान्छेले बनाएका चोट छन्,’ उनले भने ।

अनुसन्धानमा खटिएका प्रहरीहरूले शवको प्रकृति हेर्दा किशोरीको बलात्कारपछि नै हत्या भएको जनाएका छन् । शव अर्धनग्न अवस्थामा फेला परेको थियो । शरीरका कपडा च्यातिएको र भित्री कपडामा रगत लागेको थियो । किशोरीको योनि र मुखबाट धेरै मात्रामा रगत बगेको भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । ‘किशोरीले प्रतिकार गरेर पनि असफल भएको देखिन्छ । दुई वा दुई जनाभन्दा बढीको समूहले उनको बलात्कार र हत्या गरेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने । शव भेटिएकै स्थान बनमाराको झाडीमा बलात्कार र हत्या भएको उनले आशंका गरे । घटनास्थल स्थानीय खोचलेक चडेपानी ग्रामीण सडकबाट एक सय मिटर तल पर्छ ।

सरकारी वकिल कार्यालयले पोस्टमार्टम गर्नका लागि मात्र केस दर्ता भएको जनाएको छ । प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिएको र किटानी जाहेरी नआएको अवस्थामा आफूकहाँ अरू निवेदन नपरेको सरकारी वकिल भानदेव जोशीले बताए । बैतडी जिल्ला अस्पतालमा शनिबार शवको पोस्टमार्टम गरिएको छ । काठमाडौंबाट पोस्टमार्टमका लागि विज्ञ चिकित्सक आउने भनिए पनि शवको प्रकृतिले बलात्कारपछि नै हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा पाइएपछि जिल्ला अस्पतालमै पोस्टमार्टम गरिएको हो । आइतबार बिहानसम्म रिपोर्ट आउने अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘घटना संवेदनशील र शंकास्पद छ । अनुसन्धान त्यही संवेदनशीलताका आधारमा अगाडि बढाएका छौं,’ डीएसपी अधिकारीले भने । कान्तिपुर दैनिक




भर्खरै