• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना



एजेन्सी । बुधबार मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादसँग नमज्जाको हार बेहोर्यो। राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका थिए ।

ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । जवाफमा उत्कृष्ट ब्याटिङ गरेपनि मुम्बई इन्डियन्सले लक्ष्यभन्दा ३२ रन कम बनाउदा हार्न पुग्यो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनाएको थियो ।

उक्त खेलमा सबैभन्दा छिटो १०० रन, सबैभन्दा छिटो २०० रन, एक टोलीद्वारा उच्चतम स्कोर, एकै खेलमा धेरै रन, एकै खेलमा सबैभन्दा बढी छक्का प्रहार जस्ता कीर्तिमान बने ।

लगातार दोस्रो हार बेहोरेपछि मुम्बईका कप्तान हार्दिक पाण्ड्याले फेरि एकपटक ट्रोलको सामना गर्नु परेको छ । यो सिजन मुम्बईले पाण्ड्यालाई नयाँ कप्तान बनाएको छ । स्टेडियममा बसेका दर्शकले हार्दिकको अगाडि रोहित शर्माको नाममा नारा लगाएका थिए । यसअघि मुम्बईको पहिलो खेलमा पनि हार्दिकले यस्तो समस्याको सामना गर्नु परेको थियो ।

बुधबारको खेलमा पाण्ड्याले टी–२० मा विश्वका उत्कृष्ट बलर जसप्रित बुमराहलाई सुरुवातै बलिङ गराएका थिएनन् । उनले १० औं ओभरमा बलिङ गर्ने मौका पाएका थिए तर त्यतिन्जेल हैदरावादले इनिङ्सलाई आफ्नो नियन्त्रणमा लिएको थियो । हैदरावादले १०.२ ओभरमा १५० रन पूरा गरेको थियो ।

पाण्ड्याको यो रणनीतिका लागि हैदराबादले तयारी गरेको थियो । ‍हैदरावादको रणनीति ओपनिङ बलरलाई टार्गेट गर्ने थियो । बुमराहले चार ओभरमा ९ रनको इकोनोमी दिएर ३६ रन दिएका थिए  ।  क्वाना माफाकाले ४ ओभरमा ६६, कुट्जीले ५७ र हार्दिकले ४६ रन दिए ।

भारतीय पूर्व अलराउन्डर इरफान पठानले पाण्ड्याको कप्तानीमा प्रश्न उठाएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘हार्दिक पाण्ड्याको कप्तानी निकै सामान्य रहेको छ, कम्तिमा यति भन्न सकिन्छ । जब हैदरावादका ब्याट्सम्यानले तहल्का मच्चाइरहेका थिए, बुमराहलाई बलिङबाट टाढा राख्नु मेरो बुझाइभन्दा बाहिर छ ।’

यस्तै, रोहित शर्माको फ्यानहरुले पनि हार्दिकको कप्तानीमा सवाल खडा गरेका छन् ।

२७८ रनको लक्ष्य पाएको मुम्बईले जवाफमा विस्फोटक सुरुवात गरेको थियो । रोहित र किशनको जोडीले २० बलमा ५६ रनको उत्कृष्ट साझेदारी गरे । तेस्रो ओभरमा टोलीले ५० रन बनाएको थियो । त्यसपछि पनि तिलक र नमनले ११ ओभरमा टोलीको स्कोर १५० रनमा पुर्याएका थिए । तर टोलीका फिनिशरले राम्रो नखेल्दा खेल जित्न सकेनन् ।

खेलपछि पाण्ड्यालाई मुम्बईविरुद्ध हैदरावादको २७७ रनको बारेमा सोध्दा उनले आफ्ना बलरले कुनै गल्ती नगरेको र खेलमा जे भयो त्यसमा आफू खुसी भएको बताए । यो साहसी जवाफ हुन सक्छ तर लगातार दुई पराजय पछि उनीहरुमाथि दबाब बढेको छ ।