• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

विश्वकपको यात्रा गर्नु खुशीको क्षण: प्रशिक्षक मोन्टी देसाई



काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताउनुभएको छ ।

आइसिसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाई कार्यक्रममा प्रशिक्षक देसाईले सो धारणा राख्नुभएको हो । नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (युएई) मा एसिसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दैछ ।

सोही प्रतियोगिता अगाडिको बिदाई कार्यक्रममा देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ । डिफेन्डिङ च्याम्पियनका रूपमा एसिसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको बताउनु भयो । डिफेन्डिङ च्याम्पियनको लक्ष्य पनि तय भइसकेको उहाँले बताउनु भयो । मोन्टीले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०/६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताउनु भयो । एसिसी प्रिमियर कप महत्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिनुभयो । साथै उहाँले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राख्नुभयो । क्यानका सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्वपूर्ण हुने बताउनु भयो । क्यानले बिहीवार खेलाडीको बिदाई गरेको हो । बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यान सचिव पारस खड्का, महाप्रवन्धक उत्सव ढुङ्गाना लगातयको उपस्थिति थियो । फ्रेण्डसिप कप उक्त आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ बिरुद्ध दुई खेलको श्रृंखलामा ‘क्लिन स्विप’ गरेको थियो । ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्टइण्डिजमा शुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।