२० भाद्र २०८३, शनिबार
,
Latest
आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन



अ+ अ-

फिक्कल । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिनुभयो ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ बराबरको जिन्सी सङ्कलन भएको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु सङ्कलन हुने गरेको छ । समितिका अनुसार साउनमा रु चार लाख ४२ हजार पाँच सय ८८ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा रु सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा रु पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी तथा कात्तिकमा रु २१ लाख १० हजार चार सय ७५ नगद र ५९ हजार नौ सय बराबरको जिन्सी सङ्कलन भएको छ ।

त्यसैगरी, मङ्सिरमा रु १८ लाख ३२ हजार पाँच सय ५७ नगद र ६८ हजार आठ सय बराबरको जिन्सी, पुसमा रु १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा रु १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिन्सी तथा फागुनमा रु १४ लाख ५५ हजार दुई सय ४३ नगद र एक लाख २१ हजार नौ सय आठ बराबरको जिन्सी सङ्कलन भएको छ ।

पाथीभरा मन्दिरमा सङ्कलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनुभयो । “भक्तजनको सहयोग सही ढङ्गले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैँ दृढ छ,” अध्यक्ष स्याङ्बोले रासससँग भन्नुभयो, “हामी सधैँ पारदर्शिता र सुशासनको पक्षमा छौँ, मन्दिरबाट सङ्कलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौं ।”

पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले ऐन बनाएर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो ।

गत वर्ष फागुनदेखि असारसम्म रु ९२ लाख ९५ हजार तीन सय ६२ भेटी सङ्कलन भएको थियो । सो अवधिमा रु ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० बराबरको जिन्सी सङ्कलन भएको थियो ।