उसका तीन कुरा औधी राम्रा थिए ।
पहिलो उसको लेखाई । दोस्रो उसको व्यवहार । र तेस्रो उसको शरीर । मैले उसलाई चिनेको नै उसको लेखाईले हो । उसंग नजिक भएको उसको व्यवहारले । उसैको शरीरले लोभ्याएर हो म उसंग यति झ्याम्मिएको ।
उ काठमाण्डौंमा संघर्ष गर्न होइन, पढ्न आएकी । पछि पढ्न भन्दा बढि सघंष गर्न मन पराई । विदेशी लेखिकाको केही कितावहरु पढेपछि उसलाई त्यस्तो लागेको हुनुपर्छ, भावुकताबस । उसका दाई निजामति सेवाको प्रतिष्ठित पदमा कार्यरत थिए । आमा बा पनि सम्पन्न । तराईमा प्रशस्त जग्गाजमिन भएको । उसको भागमा मात्रै दुई बिगाहा जमिन छ भन्थी उ । दिदीलाई र उसलाई परिवारले छुट्टयाइदिएको रे । बाबु राजनीति गर्थे रहरले । उनमा कुनै लप्पन छप्पन थिएन । बस सबैलाई सहयोग गर्दा गर्दै नेता बनिगए ।
मेरो कथाकी नायिका परिवार परस्त थिइन । उ बेला बेलामा परिवारको कुरा गरे पनि बाँच्ने त एक्लै हो भन्थी । नपुग केही थिएन । तर काठमाण्डौंमा दुःख देखिने गरि बसेकी थिई ।
शहरभन्दा अलि पर सामान्य घरमा एउटा सानो कोठा थियो उसको । चार हजारको सानो खाट, पातला सिरग डस्ना, सानो टेबुल, एउटा चुल्हो भएको ग्याँस । ल्यापटप होइन पुरानो मोडेलको कम्प्युटर थियो उसंग । जमानामा आफैले किनेकी । हल्का टाइप गर्न र गीत सुन्न मिल्थ्यो । भन्थी, ‘म आफै कमाउँछु र आफै बाँच्छु ।’ महिनाको १५ दिन उ यही रट्थी । घर बहाल तिर्ने बेला दाईले पठाएको पैसा लिन बैंक पुग्थी । १५ दिन केही शान्त हुन्थी र फेरि उही पुरानै हुटहुटी । भन्थी, ‘म आफै बाच्न सक्छु । के सोच्छन मान्छेहरु । के म केही गर्न सक्दिन ? मेरो दाई मलाई केटकेटी सम्झिन्छ । हेर्नुहोला एकदिन म मेरो परिवारलाई केही गरेर देखाउँछु ।’ यसो भनिरहदा उ घरबाट ल्याएको चामल र दाल पकाएर मलाई खुवाउँदै हुन्थी ।
‘तिम्ले पक्कै पनि केही गरेर देखाउनु पर्छ परिवारलाई । अरु केही गर्न नसके पनि बिहे गरेर देखाउनु पर्छ ।’ म जिस्किन्थे र उ मलाई कुट्न लखेट्थी । एउटा सानो कोठामा कहाँ भाग्नु ? उ मलाई भेट्टाई हाल्थी र एक मुडकी कुट्न पनि भ्याउथी ।
तीस नपुगेकी उ । ठुलठुला कुरा गर्थी । आफै केही गर्नुपर्छ भन्थी । आदर्श कुराहरुमा उसलाई दिलचस्पी थियो । लेखेर अनावश्यक चर्चामा भन्दा पनि पाठकको मनमा बस्नु पर्छ भन्थी । एउटी कलिली लेखिकाका यस्ता कुराहरुलाई म चाख मानेर सुन्थे । लेख्न राम्रै लेख्थी । दुईटा उपन्यास मध्ये पछिल्लो उपन्यास त निकै राम्रो पनि र¥यो । मैले त त्यो उपन्यासले पुरस्कार पाउला भन्ने सोचेको थिए । तर पाएन । त्यसमा उ होइन म खिन्न भए । मलाई के लागेको थियो भने राम्रो रचनाको कतै न कतै सम्मान हुन्छ । तर उसले भने झै उ पाठकको मनमा नै सिमित भई । किताव पटक पटक छापियो र राम्रै पनि बिक्यो । सानो मसिनो उपन्यास एकै बसाईमा पढ्न सकिने ।
लेखाईबाट सुरु भएको हाम्रो परिचय छिट्टै झाम्मियो । उ दिमाग कम र मन ज्यादा भएकी केटी । म दिमाग चलाएर मनको कुरा गर्न खप्पिस । के थियो ? उ लपक्क भइहाली ।
उ नयाँ कितावको तयारी गर्दै थिई । पाए सम्म नयाँ किताव पढ्ने उ, पढ्दै र लेख्दै गर्न सक्थी । उसको यो क्षमता मलाई असाध्यै मन पथ्र्यो । म लेख्न थालेपछि अरुको किताव पढ्दिनथे. । अरुको किताव पढिरहदाँ आफु लेख्न सक्दिनथें ।
आफुले लेखेको केही पानाहरु उसले मलाई पढेर सुनाई । प्रेमको आत्मिक सन्दर्भको चर्चा थियो लेखाईमा । उसले मनलाई महत्व दिएर नायिकालाई बोल्न लगाएकी थिई, ‘तिमी जीवन र यौवनलाई प्रेम भन्ठान्छौ होला तर म मृत्यु र जीवनलाई प्रेम भन्छु । म प्रेम मनमा अनुभूत गर्छु र तिमी शरीरमा ।’
मैले प्रतिवाद गरे, ‘शरीर र मन छुटाउने कुरा होइन । प्रेम गर्नेले मनलाई पनि प्रेम गर्छ शरीरलाई पनि । फेरि प्रेम भनेको अनुभूति मात्र होइन स्पर्श पनि हो ।’
उ मान्न तयार भइन । भनी, ‘प्रेम गरेको मानिस अनुभूतिमा नै सुन्दर देखिन्छ ।’
‘प्रेम गरेको मानिस नाङगो पनि प्रिय लाग्छ ।’ मैले भने, ‘प्रेम नगरेको नाङगो शरीर सोच्न पनि सकिदैन । मानिसलाई सुन्दर बनाउने प्रेमले हो । अझ नाङगो शरीरको श्रृंगार हो प्रेम ।’
उ अझै मान्न तयार भइन, ‘तिमी यौनको कुरा गरिरहेका छौं ।’
मैले भनें, ‘कसैको उपस्थिति विना, मात्र अनुभूतिमा कसैलाई प्रेम गर्नु पूजा गर्नु हो । त्यो माया होइन । जुन हामी भगवानसंग मात्र गछौं । मानिस सुखी हुनलाई पूजा होइन प्रेम चाहिन्छ । ’
मेरो कुरामा उसले सहमति जनाइन । तर पहिलो पल्ट प्रतिवाद गरिन । यहीनेर मलाई मेरो कुराले उसलाई छोएछ भन्ने लाग्यो । त्यसपछि उसले प्रेम र यौनको भिन्नताका बारेमा सोधी । मैले भिन्नता होइन समानताको कुरा गरिदिएँ ।
सम्पन्न परिवारमा जन्मी हुर्केकी एउटी केटी जसले आफ्नो विदेशमा रहेको प्रेमीको फोटोमा चुम्वन बाहेक अरु केही गरेकी छैन । उसलाई मसंग बसेर प्रेम र यौनको कुरा गरिरहदा पक्कै केही भएको हुनुपर्छ । उसले लामो सास फेरी ।
मैले पनि लामो सास फेरें । कपडाभित्रको उसको सुन्दर शरीर सम्झेर । पातलो र गोरो उसको शरीरमा भिन्नै आकर्षण थियो । अझ बेला बेलामा मनले गर्ने उसको आत्मिक व्यवहार । मभित्रको लोभी पुरुष पटक पटक असन्तुलित हुदै थियो । मैले आफ्नो बलबुताले भ्याएसम्म आफुलाई रोकिरहेथें । मलाई के थाहा थियो भने जसरी म बेकाबु भइरहेको छु त्यसै गरि उ पनि हुनेछे र मलाई झ्वाम्म अंगालो हाल्नेछे ।
नभन्दै त्यस्तै भयो । उसले मलाई अंगालो हाली ।
‘के गरेकी यो ?’ म बनावटी रुपमा बोलिदिए ।
‘तिमी बढि बोल्छौं ।’ उ लाडिई । म चुप लागें । उ पनि बोलिन ।
उसको शरीर मैले पहिलोपल्ट त्यहि दिन देखेको ।
शरीरसम्मको यो यात्राले हामीलाई अझ आत्मिय बनायो ।
‘तिमीले मलाई एकदमै बिथोली दियौ । म कस्तो शान्त पोखरी जस्तो थिए । अहिले हरघडी तिमीलाई सम्झिन्छु । खहरेभन्दा चर्को भयो ।’ एक साँझ उसले मलाई फोन गरी । म हाँसे मात्र । मलाई केही बोल्नु पर्छ जस्तो पनि लागेन । के बोलुँ थाहा नै भएन । तैपनि ‘किन त्यस्तो भयो त ।’ भनेर सोधें ।
‘लगातार ढुङगा हान्ने काम जो तिमीबाट भइरहेको छ ।’
‘मैले पोखरीमा ढुङगा हानेको होइन । पोखरीको पानी पिएको मात्र हुँ । तरङ त पोखरीमा पहिले नै थियो । पोखरीमा छचल्किएको त्यहि तरङले त हो नी मलाई तिमीसम्म तानेको ।’ म हाँसे ।
‘अव के के हुने हो थाहा छैन ।’ यसो भनेर उसले फोन राखी । अव के हुन्छ, मलाई पनि थाहा थिएन । तर त्यो रात उसले मलाई आफु जस्तै खहरे नै बनाई ।
पछिल्ला दिनहरुमा एकअर्काको शरीर दर्शन हामीलाई सहज भयो ।
यसबीचमा उसले कथाहरु पनि लेख्न थालेकी थिई । कथामा खुलेर यौनको कुरा गर्न थालेकी थिई । उसको प्रेमको परिभाषा नै बदलिएको थियो । मनमा अनुभूत गर्ने प्रेमभन्दा उ माथि उठेकी थिई । भन्थी, ‘प्रेमका लागि तिमी मेरो शिक्षक हौ ।’ म हाँसीदिन्थे । यो सामान्य कुरा हो भन्ने मलाई लाग्थ्यो । भावुक र एकाङकी केटीहरु जे मा पनि भावुक बनिदिन्छन् । साँझमा उदास हुनु, दुई चार एसएमएस गर्नु या च्याटमा बस्नु, रात रातभर गीत सुन्नु या केही लेख्नु अनि बिहान अबेला सम्म सुत्नु उसको दिनचर्या थियो । दाईले पैसा पठाइ हाल्थ्यो । दिनभरि साहित्यिक कार्यक्रम, लाइब्रेरी या पुस्तक पसलमा बिताउँथी । तर पनि ‘म आफै बाँच्न सक्छु । केही गरेर देखाउँछु’ भन्न छोड्दिनथी ।
बन्द कोठाको चार दिवारीमा अनौपचारिक हाम्रो सम्वन्ध साहित्यिक संगोष्ठीहरुमा भने अत्यन्त भद्र हुने गथ्र्यो । यसो गर्न मैले नै सिकाएको थिए उसलाई । उसले मानेको प्रेमको शिक्षक जो ठहरिए ।
एक दिन उसले दिलाशाको कुरा गरी । बोर्डिङकी एक शिक्षिकाको । त्यसो त दिलाशाको कुरा उ पहिले पनि गर्थी । पुरुषलाई अत्याधिक घृणा गर्ने दिलाशा उसको मिल्ने साथी थिई । भन्थी,‘दिलाशाले म तिमीसंग हिडेको बोलेको पनि मन पराउँदिन । केटाहरु मतलबी हुन्छन् भन्छे । तर मलाई तिम्रो नजिक भइरहन मन लाग्छ ।’
तर त्यो दिन दिलाशाको कुरा उसको मुखबाट सुनेपछि मलाई लाग्यो, उ त मभन्दा अगाडी रहिछ । उसको शरीरको दर्शन मैले मात्र होइन दिलाशाले पनि गर्दिरहिछ ।
‘के गरेकी त्यस्तो ?’
‘दिलाशाले के के गर्थी । म नाई भन्नै सक्दिनथें । मन नपरेपनि सहन्थे म’ उ माया लाग्दी देखिई । ‘तर मलाई लेख्ने विषय पनि मिलेको छ नी । महिला समलिङगीहरुको बारेमा अव म लेख्न सक्छु नी ।’ ए भावुक लेखिका । उसको लेखनप्रतिको यो आकर्षण बुझि नसक्नु लाग्यो । दिलाशासंगको सम्वन्धलाई उसले नै सामान्य रुपमा लिए पछि मैले मात्र किन असामान्य रुपमा लिनु ? भनें, ‘तिमी त कति भाग्यमानी । पुरुष महिला दुबैको अनुभव लिन पायौ । यस्तो अनुभव बिरलैले मात्र पाउँछन् ।’
‘मलाई त केटा नै मन पर्छ । दिलाशा साथी हो नाई भन्न सक्दिन । मलाई पाइन भने मर्छु भन्छे ।’
‘तिमीलाई मन पर्दैन भने किन भन्न सक्दिनौं त ? मर्न देउ न उसलाई ।’ म साँच्ची कै झर्किए उसंग ।
एक दिन अकस्मात उ बिरामी भई भन्ने सुनें । हतार हतार अस्पताल पुगें । मैले संधै एक्लो भेटेकी उ परिवारले घेरिएकी थिई । कोही केही बोलिरहेका थिएनन् । मैले सोध्ने आँट पनि गरिन । ‘उ भित्र आइसीयूमा छे ।’ उसको दाईले भन्यो, ‘डाक्टरहरुले भगवानलाई प्रार्थना गर्नु भनेका छन् ।’ उसको परिवारसंग राम्रो चिनजान थिएन । आइसीयु बाहिरपट्टिको लबीमा एक्लै बसें । र भगवानलाई प्रार्थना गर्न थालें ।
केही प्रहरीहरु आए र दाईसंग कुरा गरे । दाईको आवाज सुनिन तर अनुहार आँत्तिएको देखें । दाई प्रहरीसंगै हिडें र मलाई पनि बोलाए । म प्रहरी र दाईको पछि पछि लागें ।
दिलाशाले यस्तो गर्छे भनेर मैले सोचेको समेत थिइन । समलिङगी आदत भएकी यो महिला मलाई उसको मिल्ने साथीभन्दा बढ्ता अरु केही लाग्दैनथ्यो । तर प्रहरी चौकीमा दिलाशाको बयान सुनेपछि म हैरान भए । स्वास्नीमान्छेको यस्तो ह्रिंसक रुप मैले कल्पना पनि गरेको थिइन ।
उसंग बलजफ्ति अनैतिक सम्वन्ध राख्दै आएकी दिलाशाले उसलाई बिबाहको प्रस्ताव गरिछ । उसले मानिन । मान्ने कुरा पनि भएन । उसको आफ्नै प्रेमी थियो । विदेशमा पढ्न गएको । शरीर दर्शनका क्रममा उ पटक पटक आफ्नो प्रेमी सम्झिदै मसंग जिस्केकी थिई, ‘उसको लागि साँचेको शरीर तिमीलाई दिएँ ।’
‘मैले शरीर लिएको हैन दर्शन मात्र गरेको ।’ मेरो कुरा सुनेर उ हाँस्थी ।
‘तिमी मेरी हुदिनौ भने कसैको पनि हुन दिन्न ।’ भनेर दिलाशाले घाँटी अठ्याईछ र उ बेहोश भएपछि आफैले अस्पताल ल्याएर परिवार र प्रहरीलाई खवर गरिछ । साँझ सम्ममा उ नरहेको खवर रेडियो र टिभीहरुले फुक्न थाले । मलाई असैह्य भयो । एक घण्टाजस्तोमा नै पोष्टमार्टम गरिएको उसको शरीर लिएर हामी पशुपति आर्यघाट पुग्यौं ।
बहिनीको खुशी र रहरका लागि एक्लै बस्न पनि दिने उसको दाई भक्कानिएर रुदै थिए । म आफै पनि आफुलाई संभाल्न सकिरहेको थिइन । तीन चोटी घुमाएर उसको शरीरलाई चितामा राखियो । उसको बुबा, दाई, म र उसको काकाको छोराले उसको शरीरलाई चितामा राखेका थियौं ।
मैले पटक पटक चुम्वन गरेको उसको कलिलो, पातलो ओठमा उसको बुबाले कपुरसहितको आगो राखे र भक्कानिए । मलाई आफ्नै ओठ पोलेजस्तो लाग्यो । दुबै हात जोडेर मैले अन्तिमपल्ट दर्शन गरें उसको बल्दै गरेको नाङगो शरीरलाई ।











