• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण

मुस्ताङको लुकबुङ गुफा पर्यटकको पर्खाइमा



म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ ।

फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो ।

“जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि नजिकै पर्ने लुकबुङ गुफा सुनसान छ,” उहाँले भन्नुभयो, “मुस्ताङ भित्रने पर्यटक र भक्तजनलाई लुकबुङ गुफामा भित्र्याउन सकेमा बसाइँ लम्ब्याउन सकिने सम्भावना छ ।” गुफाभित्र हात्तीको अनुहार, सुड, लक्ष्मी, शिवलगायत देवीदेवता, मानिसका शरीरका अङ्ग आकृति देख्न सकिन्छ । विभिन्न जनावर र शिवलिङ्गका प्राकृतिक आकृति गुफाका आकर्षण हुन् । करिब १५ मिटर लामो रहेको गुफाको प्रवेशद्वारमा ४० मिटर अग्लो झरना छ । हिउँदयाममा झरनाको पानी जम्छ ।

गुफाभित्र बौद्ध धर्मावलम्बीका लामाले तपस्या गर्ने ठाउँ छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकअन्तर्गत एक्लेभट्टीस्थित कालीगण्डकी नदीको मोटरेबल पुलदेखि करिब १० मिनेट गाडीको यात्रा गरेपछि पुगिने फल्याक गाउँदेखि लुकबुङ गुफा पुग्न ४५ मिनेट पैदलयात्रा गर्नुपर्छ । फल्याक गाउँदेखि हिँडेर गुफासम्म पुग्दाको दु:ख कलात्मक आकृति देखेर भुलाउँछ । गुफाभित्रै पकाएर खान सकिने भाँडाकँुडा पनि छन् । औँसी र पूर्णिमाका दिन लुकबुङ गुफा दर्शन गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासीले बताएका छन् । फल्याक गाउँदेखि लुकबुङ गुफा जोड्ने पैदलमार्ग तयार पारिएको र आगामी वर्ष सडक पुर्‍याउने तयारी गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । गुफाको धार्मिक र प्राकृतिक महत्वका विषयमा प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।