१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’

‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’
अ अ+ अ-

हेटौँडा । ज्येष्ठ नागरिकलाई उहाँहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सिर्जना गर्नु समाजका प्रत्येक नागरिकको दायित्व हो । ज्येष्ठ नागरिक विविध कारणले आफ्ना सन्तानसँग बस्न नसक्नेरनपाउने अवस्था कहीँकसैले सिर्जना गर्नु हुँदैन । यदि त्यस्तो अवस्था आए समाज तथा राज्यले पारिवारिक वातावरणको महसुस गर्नेगरी टोलटोलमा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

घरपरिवारमा होस् वा वृद्ध आश्रमहरुमा होस्, ज्येष्ठ नागरिकका लागि स्वस्थ जीवनयापन गर्न स्वस्थकर खाना, शान्त र रमणीय वातावरणसहितको व्यवस्था बनाउनु आवश्यक हुन्छ ।

बागमती प्रदेश सांसद भारती पाठक स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक पर्ने बताउनुहुन्छ । केही दिनअघि हेटौँडा उपमहानगरपालिका–२ स्थित ॐ वृद्धाश्रममा आश्रित आमाहरुसँगको भेटमा आश्रममा आश्रित आमाबुवालाई स्वस्थकर जीवनयापनका लागि स्वस्थ वातावरण प्रदान गर्न विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

सांसद पाठकले सकेसम्म आमाबुवालाई उहाँहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सबैले बताउनुपर्ने बताउनुहुन्छ । वातावरण नबनेको अवस्थामा राज्यले दायित्व बहन गर्नुपर्ने बताउनुभयो । उहाँ आमाबुवालाई आफ्ना सन्तानसँग बस्दा मिल्ने खुसी प्रदान गर्नुपर्ने भन्दै सन्तानसँग बस्न नसक्नेरनपाउनेका लागि स्थानीय निकायले बुढेसकालको सहारा बन्ने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।

आश्रममा २४ जना आश्रित रहनुभएको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ बताउनुहुन्छ । आश्रममा दानबाट आएको खाद्यान्न प्रशस्त हुने गरेको भन्दै लत्ताकपडाका लागि आश्रमको सञ्चित कोषबाट खर्च गर्ने गरिएको उहाँ बताउनुहुन्छ ।

आश्रममा आश्रित सबै ज्येष्ठ नागरिकका लागि स्वस्थ खाना, रमणीय र सहयोगी वतावरण बनाइएको श्रेष्ठ भनाइ छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आश्रममा एक जना नर्सको दरबन्दी दिएकाले स्वास्थ्य उपचारको लागि सहज भएको उहाँ बताउनुहुन्छ । आश्रममा तीन जना आमाबुवाले आफैँ पकाएर खाने गरेको बताउँदै उहाँहरुलाई पारिवारिक वातावरण प्रदान गर्न स्थानीयले सहयोग गरिरहेका छन् ।

“मेरो साथमा दुई लाख थियो । त्यसले सुगर र प्रेसरको उपचार गर्न भनेर छोराछोरीले लगे । सरकारले दिने भत्ता पनि मैले उनीहरुलाई बुझाउन पदथ्यो । भत्ता लिँदा बिस्कुट खान मन लाग्थ्यो, तर बिस्कुट सम्झँदा पनि मुखमा पानी निकालेर पिउन बाध्य थिएँ । जीवनमा भोकभोकै चक्कर लाग्दा पनि काम गर्नुपर्ने अवस्था आयो ।” यो भनाइ हेटौँडा उपमहानगरपालिका–२ स्थित ॐ वृद्धाश्रममा आश्रित ६८ वर्षीया चुनकुमारी बस्नेतको हो ।

बस्नेतको सानै उमेरमा विवाह भयो । घरको नजिकै माइती । व्यापारी श्रीमान्सँग उहाँको जीवन खुसीसाथ चलिरहेको थियो । श्रीमान्को मृत्युपछि परनिर्भर जीवन बिताउन बाध्य भएको उहाँले बताउनुभयो । सन्तान नजन्मिएपछि दिदीबहिनीका छोराछोरीलाई आफ्नै सन्तान जसरी नै माया गरेर आफ्नो सबै कुरा सुम्पिएको उहाँको भनाइ छ ।

तत्कालीन समयमा श्रीमान्को कमाइ प्रशस्तै हुने गरेको बस्नेतले सुनाउनुभयो । खसीबोकाको व्यापार रहेकाले आफ्नो काम बजार लैजान र ल्याइएका खसीबोकालाई घाँस खुवाउने मात्र रहेको उहाँले स्मरण गर्नुभयो । आम्दानी राम्रो भएकाले पनि आफूलाई थप काम गर्नुपर्ने अवस्था नआएको उहाँको भनाइ छ ।

आम्दानीको केही रकम उहाँ आफ्ना दिदीबहिनीका सन्तानको लागि खर्च गर्ने गर्नुहुन्थ्यो । पहिला ती छोराछोरीले पनि ‘हामी छौँ’ भन्ने गरेका बस्नेतले बताउनुभयो । उहाँलाई बज्रपात त तेतिबेला भयो जतिबेला ती छोराछोरीले खाना नदिएर काम लगाउन थाले । उहाँलाई कामको भन्दा पनि वचनले धेरै घोच्न थाल्यो ।

दिदीबहिनीका १२ सन्तानलाई बस्नेतले आफ्नो सन्तान सरह मायाममता दिनुभयो । त्यसको बदला कहिल्यै केही आशा राख्नुभएन् । श्रीमान्को देहान्तपछि साहराविहीन हुनुभएकी बस्नेतले आफूसँग भएको सम्पत्ति पनि ती सन्तानलाई दिएमा आफ्नो लालनपालन हुने सोंच्नुभएको थियो । उहाँको छोरापर्ने हाल हेटौँडा–९ निवासी आफ्न्तले पालनपोषण गर्ने आश्वासन दिएर घर जग्गा आफ्नो नाममा राजिनामा पास गर्न लगाएपछि बस्नेतले सहजै गरिदिनुभयो । घर दिएको केही समयपछि छोराले बोलचाल नै बन्द गरिदिएको उहाँले सुनाउनुभयो । त्यसपछि आफूसँग भएको नगदसहित उहाँ बहिनीको छोरीको घरमा आश्रय लिन पुग्नुभयो ।

आफू सक्षम रहँदा अत्यधिक माया गर्ने छोरीले सम्पत्ति सहिँदै जान र वृद्ध हुन थालेपछि व्यवहारमा परिवर्तन गर्न थालेको बस्नेतले सम्झनुभयो । गहभरि आँसुधारा बगाउँदै उहाँले भन्नुभयो, “केही दिनपछि छोरीले काम नगरे खान नदिने भनिन् । मेरो खुट्टा नचल्ने भएको थियो, त्यस्तो अवस्थामा पनि ममाथि उनलाई दया लागेन र भाँडा माझ्न, बढार्न सकिन्छ भन्दै झर्कीफर्की गर्न लागिन् ।”

बस्नेतले लामो सास फेर्दै थप्नुभयो, “मेरो घरको सरसमानसहितको नगद उसैलाई बुझाएकी थिएँ । निस्केर कहाँ जानु, रुँदैरुँदै काम गर्न थालेँ । आफूसँग रु दुई लाख थियो, उपचार गर्न भनेर लगिन् । वृद्धभत्ता पनि उनैलाई बुझाउने गरेकी थिएँ ।” हरेक महिना भत्ता लिँदा बिस्कुट खान पाउने आश लागे पनि रु एक पनि आफ्नो हातमा नपर्ने उहाँले सुनाउनुभयो ।

त्यसपछि सहन नसकेर आफ्नो घर भएको स्थानमा फर्किएपछि खानाका लागि मेलापात जाने र घाँस काट्ने काम सुरु गरेको बस्नेतले बताउनुभयो । स्वास्थ्यले साथ दिन छोडेपछि वडा कार्यालय गएर ‘मलाई जे गर्नु छ गर’ भनेर रुदाँ वडाले आश्रमसम्म पठाएको उहाँले जानकारी दिनुभयो ।

बस्नेतले ४२ वर्षको उमेर श्रीमान् गुमाएपछिको कहालिलाग्दो जीवन कुनैपनि छोरीले भौन्न नपरोस् भन्दै रुनुुहुन्छ । आफ्नो खुट्टामा नउभिएकाले नै श्रीमान् रहँदा राम्रो रहेको जीवनशैली श्रीमान्को मृत्युपछि बेवारिसे बन्न पुगेको उहाँले बताउनुभयो । उहाँलाई अहिले जीवनमा आफ्ना आफन्त र सम्पत्तिभन्दा पनि सीप र एक्लै बाँच्न सक्ने हिम्मत हुनु ठुलो कुरा लाग्ने गरेको बताउनुभयो । हरेक छोरीलाई गृहिणी होइन आफ्नो जिवन धान्न सक्ने सीप सिक्न उहाँ आश्रममा जाने महिलालाई अनुरोध गर्नुहुन्छ ।

युवा अवस्थामा भारतमा कमाएको रकम चोरी भएर सुरक्षित जीवन जीउने आशमा आश्रम आइपुग्नुभएका स्याङ्जाका खिना गिरीको अनुसाशित जीवनशैलीले गर्दा ९० वर्षमा पनि फुर्तिलो र निरोगी बनाएको छ । उहाँ पनि हेटौँडा–२ स्थित ॐ वृद्धाश्रममा बसेपनि छुट्टै पकाएर खानुहुन्छ त्यो पनि आफ्नै पौरखले ।

स्याङ्जाको वालिङ घर भएका गिरीले जग्गाजमिन कम भएको र खान नपुग्ने भएकाले धन कमाउन भारत गएको बताउनुभयो । भारतमा सडक बनाउने कामको ठेक्का गर्न थाल्नुभयो । राम्रो कमाई भएकाले त्यहीको एक युवतीसँग विावह गरी उत्तै बसेको उहाँले बताउनुभयो ।

विवाहको केही वर्षपछि श्रीमतीले छोडेर गएको गिरीले सुनाउनुभयो । त्यसपछि कमाउने, खाने र केही रकम बुढेसकाललाई जोगाउने गरेको उहाँले स्मरण गर्नुभयो । उहाँ ६५ वर्षको उमेर पछि भने उहाँ धाम घुम्ने र सादा जीवनशैलीमा रमाउने गर्न थाल्नुभयो ।

कहिले बृन्दावन र कहिले मथुरा धाम बस्ने क्रममा आफूसँग भएको रकम चोरी हुँदै गएपछि विरगञ्ज आएको गिरीले बताउनुभयो । त्यस समयमा त्यहाँ एक जना प्रहरीले बरु हेटौँडामा गएर आश्रममा बस्नु भनेर सुझाउदा आफु हेटौंडा आइपुगेको उहाँले बताउनुभयो । उहाँ आश्रमको खोजीमा हेटौँडा आइपुग्दा ॐ वृद्धाश्रम निर्माणाधीन रहेकाले तत्कालीन समयमा आफूसँग भएको रु पाँच लाख १८ हजार दिएर एउटा कोठामा बस्न थालेको गिरीले जानकारी दिनुभयो ।

पछि आश्रममा बसे पनि खानपानको व्यवस्था आफ्ना लागि आफैँले गरिरहेको उहाँको भनाइ छ । बिहान ३ बजे उठ्ने र बोट बिरुवामा पानी हाल्ने काम सकेर चोकतिर चियाका लागि निस्कने उहाँको दैनिकी नै हो ।

हेटौँडामा धेरै पण्डितसँग चिनजान भएकाले पूजापाठ र कर्महरुमा जाने अवसरसमेत मिल्ने गरेको गिरीले बताउनुभयो । पूजापाठ गरेर आएको अन्न र दक्षिणाले खानपानको व्यवस्थापन भइरहेको उहाँको भनाइ छ । बेलुका घाम रहँदैमा खाना खाने र सात बजे रेडियोको समाचार सकिएसँगै सुत्ने गिरीले अनुशासित जीवनयापन र स्वस्थ खानपानले शरीरमा रोग नलाग्ने अनुभव सुनाउनुभयो । ॐ वृद्धाश्रममा अहिले ४० देखी एक सय १० वर्षसम्मका नौ जना आमा र १४ जना बुवा आश्रित हुनुहुन्छ । रासस