• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

साफ यू–१६ महिला: नेपालले भूटानलाई हरायो



काठमाडौँ । साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

खेलको ३१औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन् । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भूटानमाथि सहज जित निकाल्यो । जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ । अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ ।