९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी
अ अ+ अ-

धरान । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ ।

मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तराष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंङगापुरलगायत धेरै वटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याइ रहेका छन् ।

धरानमा व्यावसायिक रुपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक हुनुहुन्छ, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोंचले फर्किनु भएको विश्वकर्माले आफ्नै पुख्यौली पेशालाई व्यावसायिक रुप दिने योजना बनाउनुभयो । त्यसपछि करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खोल्नु भयो । सुरुमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोल्नु भएको विश्वकर्मा आफैँ खुकुरी बनाउनुहुन्छ । माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउनुहुन्छ । उहाँका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । उहाँ भन्नुहुन्छ, “यहाँ उत्पादन भएका खुकुरीहरु भारत, चीन, क्यानाडा, सिङ्गापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।”

धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्नु हुन्छ । दर्नालका बावु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उहाँहरुले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् ।

घरेलु उद्योगका रुपमा मात्र होइन, ठूलो व्यवसायका रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरु पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिज सञ्चालन गर्दैआउनु भएका दीपक दर्नाल त्यसको एक उदाहरण हुनुहुन्छ । उहाँले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गरिरहनु भएको छ । कोरोना महामारी भन्दा अगाडि त उहाँको उद्योगमा ६० जना कालीगढ थिए ।

उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तराष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उहाँ बताउनुहुन्छ । खुकुरी उद्योगबाट हाल मासिक रु ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौँ ।’’

उद्योग सञ्चालकहरुका अनुसार खुकुरीको मूल्य गुणस्तर अनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाइ छ ।

उद्योग सञ्चालकहरुले उपलब्ध गराएको विवरणअनुसार धरानमा साना ठूला गरी ४० देखि ५० वटा खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिक रुपमा तीन सय वटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीहरुको भनाइ छ । उनीहरुका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालीगढ ५० देखि ६० जनाको हाराहारीमा छन् ।

खुकुरीसँग खुकुरीको दाप बनाउनेहरुले पनि रोजगारी पाएका छन् । धरानमा खुकुरीको दाप बनाउने करिब २५ वटा परिवार छन् । उनीहरुको यसैबाट जीवनयापन हुने गरेको उद्योग सञ्चालक विश्वकर्मा बताउनुहुन्छ । धरानमा उत्पादन हुने खुकुरीको मूल्य कम्तिमा दुई सय रुपैयाँदेखि बढीमा १५ हजार रुपैयाँसम्म पर्छ ।

खुकुरी उद्योग सङ्घ धरानका अध्यक्ष समेत रहेका न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिजका सञ्चालक दीपक दर्नाल खुकुरी उद्योगबाट धेरै फाइदा लिन सरकारको सहयोग आवश्यक रहेको बताउनुहुन्छ । ‘‘अहिले अन्तरराष्ट्रिय बजारबाट खुकुरीको माग धेरै भएपनि हामीले विदेश पठाउँदा धेरै कर लाग्ने भएकाले समस्या छ’’, उहाँ भन्नुहुन्छ, ‘‘नेपाल सरकारले करमा सहुलियत दिने व्यवस्था गरिदिए खुकुरी उद्योग सञ्चालन गर्नेहरुको हौसला बढ्ने थियो । उनीहरुले विदेशमा खुकुरी निर्यात गर्दा राज्यलाई नै आम्दानी बढ्ने थियो । सरकारलाई हाम्रो यही आग्रह छ ।’’

बजार खस्किएकोमा चिन्ता
कोरोना महामारीपछि समग्र बजारको अवस्था खस्किएको छ । खुकुरीको व्यवसायमा पनि त्यसको असर पर्ने नै भयो । धरानका खुकुरी व्यवसायीहरुका अनुसार विगतभन्दा खुकुरीको माग पनि घटेको छ । एकातिर खुकुरी बनाउने फलामको भाउ बढेको र अर्कातिर माग घटेकाले समस्या भएको सुस्मिता खुकुरी उद्योगका सञ्चालक घमानसिंह विश्वकर्मा बताउनुहुन्छ ।

उहाँका अनुसार पहिला ७० देखि ८० रुपैयाँ प्रति केजीमा पाइने फलाम अहिले एक सयदेखि १२० रुपैयाँ प्रतिकेजी पर्छ । उहाँ भन्नुहुन्छ, ‘‘महँगी बढेपछि पहिला जत्ति खुकुरी उत्पादन गर्न सकिएको छैन । बजार पनि खस्किएको छ ।’’

अहिले माग र उत्पादन बराबरी अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् । विगतमा हातले नै खुकुरी बनाउने सबै काम गर्नु पर्ने अवस्था थियो, अहिले भने प्रविधिको विकाससँगै मेसिनहरुको प्रयोग पनि हुने गरेको छ । यसबाट केही सहज पनि भएको व्यवसायीको भनाइ छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर अझै खुकुरीको उत्पादन बढाउन र अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने सम्भावना प्रसस्त रहेको व्यवसायी विश्वकर्माको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘सरकारबाट सहयोग पाउने हो भने खुकुरी उद्योगहरु फस्टाउन सक्छन्, यसले नेपालीको सान र पहिचान संसार सामु फैलाउने मात्र होइन, विदेशी रुपैयाँ पनि राम्रोसँग आम्दानी गर्ने सम्भावना छ ।’’

संस्कृति र इतिहासमा खुकुरी
खुकुरीको सम्बन्ध नेपालका विभिन्न जातीको संस्कार संस्कृतिसँग पनि जोडिन्छ । खुकुरीलाई देवताको थानमा राखेर पुज्ने चलन विभिन्न समुदायमा पाइन्छ । दशैं र विभिन्न चाडपर्वमा पनि हतियारका रुपमा खुकुरीको पूजा गर्ने प्रचलन छ । इतिहासमा पनि खुकुरीको उत्तिकै महत्व छ ।

नेपालीलाई विश्वमा गोर्खालीका रुपमा परिचित गराउन खुकुरीले ठूलो भूमिका खेलेको इतिहास अध्ययनका क्रममा बुझ्न सकिन्छ । नेपालीलाई वीर जातिका रुपमा चिनाउने काममा खुकुरीको भूमिका छ । गोर्खाली सैनिकहरुले खुकुरीकै भरमा नेपालमा विभिन्न युद्ध लडेका थिए । त्यसबेलाको सैनिक हतियारमा खुकुरी र तरबार नै प्रमुख थिए ।

अहिले पनि प्रहरी, सैनिकलगायत सुरक्षाकर्मीहरुले कम्मरमा खुकुरी भिर्ने चलन छ भने सुरक्षाकर्मीका पोसाकमा पनि खुकुरी चिन्ह अङ्कित गर्ने गरिएको छ । त्यसबाहेक सुरक्षासँग सम्बन्धित तक्मा, पुरस्कारमा पनि खुकुरीको चिन्ह प्रयोग गर्ने गरिएको छ । यसरी नेपालीको संस्कृति र इतिहासमा गहिरो प्रभाव पारेको खुकुरीले पछिल्लो समय व्यापारमा पनि राम्रो प्रभाव जमाउँदै गरेको देखिन्छ ।

खुकुरी जस्ता हतियार बनाउने काम विश्वकर्मा समुदायको पुख्र्यौली पेशाका रुपमा चिनिन्छ । दलित समुदायका पुख्र्यौली पेशाहरु सङ्कटमा पर्दै गएको बेला खुकुरी बनाउने पेशामा भने युवा पुस्ताको पनि आकर्षण देखिएको छ । धरानका उद्योगहरुमा खुकुरी बनाउने अधिकांश युवा पुस्ताका छन् । खुकुरी व्यवसाय युवा पुस्ताको रोजगारीको राम्रो अवसर पनि बनिरहेको छ ।

विश्व बजारमा माग बढिरहेको खुकुरी व्यवसायलाई वृद्धि गर्न स्थानीय तह र प्रदेश सरकारले पनि नीतिगतरुपमा काम गर्नुपर्ने खुकुरी उद्योग संघका अध्यक्ष दर्नालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “स्थानीय तह र प्रदेश सरकारले हाम्रो पुख्र्यौली पेसा बचाउने सहयोग गरिदिए, अझै धेरै रोजगारी पनि सृजना हुन्थ्यो, राज्यलाई पनि फाईदा पुग्थ्यो ।” रासस